सत्ता गठबन्धनले देश लुट्न न्यूनतम साझा कार्यक्रम ल्याएको ओलीको आरोप

काठमाडौं, साउन २५। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले देश लुट्न न्यूनतम साझा कार्यक्रम ल्याएको आरोप लगाएका छन् । ललतिपुरको च्यासलमा भएको ११ औं केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

ओलीले सत्तारुढ गठबन्धनको कार्यक्रमलाई शब्दजालको संज्ञा दिए । ‘न्यूनतम साझा कार्यक्रम शब्दजाल हो । देश लुट्ने कार्यक्रम हो’, उनले भने, ‘हामी सरकारमा हुन्जेल उनीहरु एमसिसीका बारेमा हो–हल्ला गर्थे । अहिले क्रान्तिकारीहरु सरकारमा भएको बेला सीधै खारेज गर्छौ भन्न सक्नुपर्‍यो नि १’

यता परमादेशबाट विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन वरिष्ठ नेता माधवकुमार नेपालले निर्लज्ज काम गरेको आरोप पनि ओलीले लगाएका छन् ।

बैठकमा बोल्दै उनले नेता नेपालप्रति आक्रोश यस्तो पोखेका हुन् । ‘अहिले सरकार परिवर्तन भएको छ । तर यसलाई हामीले शान्तिपूर्ण ‘कु’ का रुपमा लिएका छौं’, उनले भने, ‘जनताबाट सरकार परिवर्तन भएको होइन, परमादेशबाट हो ।’

साथै ओलीले एक महिनासम्म मन्त्रिपरिषद् विस्तार नभएकोमा पनि कटाक्ष गरेका छन् । ‘एक महिनासम्म सरकार नै गठन हुन सकेन । गम्भीर समस्या शुरु भइसक्यो भनेर बुझे हुन्छ’, उनले भने, ‘एक महिनासम्म सरकार नै बन्न सकेको छैन । पार्टीको आन्तरिक समस्याले संसद विघटन गर्न पाइन्छ भनेर हाम्रो आलोचना गरियो । अहिले देख्नु भयो होला नि ।’

उनले अहिले विभिन्न दलको तानातानमा एक महिना खेर फालिएको बताए ।

प्रतिक्रिया दिनुहोस्