जसपाका तीन सांसदको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

काठमाडौं स्, साउन २५ । जनता समाजवादी पार्टी (जसपा) बाट निष्कासित गरेका लुम्बिनी प्रदेशसभाका तीन पूर्वसांसदले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

पार्टीले निष्कासन गरेपछि सांसद पद गुमाएका विजयबहादुर यादव, सन्तोषकुमार पाण्डेय र कल्पना पाण्डेय सर्वोच्च अदालत गएका थिए । उनीहरुले पार्टी र प्रदेशसभा सचिवालयले आफूहरुमाथि अन्याय गरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै सर्वोच्चले लिखित जवाफ माग गरेको छ। अन्तरिम आदेशका लागि छलफल गर्न भदौ ८ गते दुवैपक्षलाई बोलाएको छ।

पार्टीको निर्णय विपरित सरकारमा सामेल भएको, दलको ह्वीप उल्लंघन गरेको भन्दै जसपाको उपेन्द्र यादव पक्षले १४ वैशाखमा तीनैजना सांसदलाई पदमुक्त गरेको थियो।

उनीहरु पछि पार्टीको सो निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका थिए। तर सर्वोच्चले उनीहरुकै पक्षमा फैसला गरेपछि उनीहरु फेरि प्रदेशसभामा फर्किएका थिए। तर पछि फेरि दोस्रो पटक जसपाले पार्टीबाट निष्कासित गरेपछि पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालत गएका थिए।

 

प्रतिक्रिया दिनुहोस्