चर्को विवादका बीच एमाले स्थायी कमिटी बैठकबाट विधान संशोधन प्रस्ताव पारित
काठमाडौं, साउन २५ । नेकपा एमालेको स्थायी कमिटी बैठकले चर्को विवादका बीच विधान संशोधन प्रस्ताव पारित गरेको छ ।
आगामी भदौ २७ र २८ गते बोलाइएको विधान महाधिवेशनलाई लक्षित गर्दै स्थायी कमिटीको सोमबारको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको हो ।जसमा अध्यक्ष र महासचिव बाहेक सबै पदाधिकारी मनोनित गर्ने उल्लेख छ ।
उक्त संशोधन प्रस्ताव अब केन्द्रीय कमिटी बैठकमा लगिने छ । उपाध्यक्ष वामदेव गौतमका अनुसार अध्यक्ष केपी ओलीले राजनीति प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्ताव पनि पेश गरेर त्यसलाई एकरुपता दिइएको छ ।
यस्तै पदाधिकारी संख्या घटाउने प्रस्ताव पनि ल्याइएको छ । एमालेमा एक अध्यक्ष, एक वरिष्ठ नेता, पाँच उपाध्यक्ष, एक महासचिव र पाँच सचिव रहने व्यवस्था छ । नवौं महाधिवेशन पछि मुलुक संघीयता संरचनामा गएकाले अञ्चल समन्वय कमिटीको ठाउँमा प्रदेश संगठन कमिटी प्रस्ताव गरिएको छ ।
एमालेको यसअघिको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गतेका लागि विधान महाधिवेशन बोलाउने निर्णय गरिसकेको छ । यता माधव नेपाल पक्षका नेताहरुले भने अध्यक्ष ओली पक्षलाई अधिवेशनसम्बन्धी गतिविधि रोक्न चेतावनी दिँदै आएका छन् ।















प्रतिक्रिया दिनुहोस्