दार्चुला तुइन घटना: नेपालको बाटो हुँदै दोस्रोपटक घटनास्थल अवलोकन गर्न व्याँसको माल पुग्यो छानविन टोली

काठमाडौं, साउन २२ । दार्चुलाको तुइन घटनाको छानविन गर्न आएको समिति शुक्रबार नेपाली सेनाको हेलिकप्टरमार्फत व्याँसको माल पुगेको छ । बिहीबार भारतीय बाटो हुँदै घटनास्थल पुगेको छानविन समितिको टोली शुक्रबार नेपालतर्फको घटनास्थल हेर्न हेलिकप्टरमार्फत त्यहाँ पुगेको हो ।

व्याँस गाउँपालिका २ मालघाटको स्थलगत निरीक्षण गर्न तथा पीडित परिवारसँग छलफल गर्न टोली गएको हो । बिहीबार नेपालतर्फ स्थलगत रुपमा टोली अध्ययन गर्न नआएको भन्दै स्थानीय र नेकपा विप्लव समूहका कार्यकर्ताले नारा जुलुस गरेका थिए ।

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको छानविन टोली गत मंगलबारदेखि दार्चुलामा छ । छानविन समितिमा गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य छन् ।

साउन १५ गते माल गाउँबाट सदरमुकाम खलंगा आउने क्रममा ३३ वर्षीय जयसिंह महाकाली नदीमा वेपत्ता भएका थिए । धामी वेपत्ता भएको आठ दिनसम्म शव भेटिएको छैन। आफन्तले कूसको मूर्ति बनाएर अन्त्यष्टि गरिसकेका छन् । मृतकका आफन्तले पीडकलाई कारवाही र पीडित परिवारले उचित क्षतिपूर्ति, बालबच्चाको पालन पोषणको सुरक्षाको जिम्मा राज्यले लिनुपर्ने माग समेत गरेका छन् । यता अनुसन्धानमा आएको टोलीले अहिलेसम्म कुनै ठोस जनकारी भने दिएको छैन ।

यसैबीच घटनास्थल अवलोकन तथा रिपोर्टीङका लागि पत्रकारलाई जान समेत दिइएको छैन । स्थानीय पत्रकारहरुले आफूहरुलाई घटनास्थलमा जान नदिएकोमा भारतीय पक्षसँग आक्रोश पोख्न थालेका छन् ।

स्थानीय तथा परिवारले भारतीय एसएसबीलाई कडा कारवाहीको माग गरेका छन् । केहिदिन अघि उनीहरुले कारवाहीको माग गर्दै भारतीय प्रहरीमा निवेदन पनि दिएका छन् । अहिले यो घटनाले परिवार शोकाकुल अवस्थामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्