स्वास्थ्य राज्यमन्त्रीलाई बर्खास्त गर्न डा. केसीको माग, नभए भदौ ३ देखि अनशन बस्ने चेतावनी

काठमाडौं, साउन २२ । प्राध्यापक डाक्टर गोविन्द केसीले फेरि सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन्। उनले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्नेसहित माग राखेर आगामी ३ भदौदेखि अनशन बस्ने घोषणा गरेका हुन्।

व्यापारिक स्वार्थ गाँसिएका श्रेष्ठलाई मन्त्री बनाएकोमा यसअघि नै सरकारसँग आपत्ति जनाएका केसीले उक्त निर्णय नसच्याइए अनशन बस्ने चेतावनी दिएका हुन्।उनले आफ्नो मागको पहिलो बुँदामै राज्यमन्त्री श्रेष्ठलाई पदमुक्त गर्न भनेका छन्।

उनले अवैध रुपमा बढी शुल्क लिएको पुष्टि भइसकेका मेडिकल माफियाहरूलाई चुनावको टिकट पाउन र समानुपातिक सांसद हुनबाट वञ्चित गर्न पनि माग गरेका छन्।

बीपी प्रतिष्ठान लगायत कुनै पनि विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्त गर्दा निष्पक्ष रुपमा पदाधिकारी मापदण्ड निर्धारण कार्यदलको सिफारिस अनुसार हुने गरी तत्काल कानुनी व्यवस्था गर्न पनि केसीले भनेका छन्।

उनले बीपी प्रतिष्ठानमा अर्बौं भ्रष्टाचारका लागि दोषी पदाधिकारीहरुले उन्मुक्ति पाउन नहुने पनि माग गरेका छन्। त्यहाँ उस्तै भ्रष्टहरुको नियुक्ति नदोहोरिन दिन पनि सरकारलाई भनेका छन्।

नेपालको राजनीतिमा नीतिगत भ्रष्टाचारले जरा गाड्न नदिन स्वास्थ्य राज्यमन्त्री बर्खास्ती र बीपी प्रतिष्ठानका पदाधिकारीमाथि कारबाहीसहितका माग पूरा नभए भदौ ३ गतेदेखि सत्याग्रह शुरु गर्ने पनि उनले चेतावनी सरकारलाई दिएका छन्।

केसीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डेढ महिना बढी चलेको आन्दोलनका माग पूरा गर्नेबारे हालै भएको सम्झौता अक्षरशः कार्यान्वयन गर्न पनि भनेका छन्। केसीले त्यहाँका चार शीर्ष पदाधिकारीलाई पदमुक्त गर्न पनि माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्