भेरोसेल खोप दोस्रो मात्राका लागि कामपाले तोक्यो ३२ वटै वडामा खोप केन्द्र

काठमाडौँ, साउन २२ । काठमाडौँ महानगरपालिकाको ३२ वटै वडामा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन केन्द्रको व्यवस्था गरिएको छ ।

महानगरका स्वास्थ्य विभाग प्रमुख करिबहादुर कुँवरका अनुसार खोप लगाउन आउँदा पहिलोपटक लगाएको कार्डसहितको विद्युतीय दर्ता नम्बर लिएर आउनुपर्ने र पहिलो खोप लगाएको २१ दिन पुगेको हुनुपर्ने व्यवस्था गरिएको छ । निर्धारण गरिएका सबै केन्द्रमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खोप लगाइने छ । खोप आगामी आइतबारसम्म सञ्चालन हुनेछ ।

यसअघि महानगरले १२ खोप केन्द्रमार्फत असार २९ देखि ३१ गतेसम्म खोप उपलब्ध गराएको थियो । पछिल्लो समय कोरोनाका बिरामी बढ्दै गएकाले भीड कम गर्न सबै वडामा खोप केन्द्रको व्यवस्था गरिएको हो ।

अहिलेसम्म महानगरका ७२ हजार ६४४ जना कोरोनाबाट सङ्क्रमित भएकामा ६८ हजार ७७१ निको भएका ५१०को मृत्यु भएको छ । यहाँ तीन हजार ३६३ जना सक्रिय सङ्क्रमित छन् ।

यता भूटान सरकारले दिएको तीन लाख डोज अष्ट्राजेनिकाको खोप काठमाडौं आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दीपेन्द्र रमन सिंहले भूटानको ड्रुक एयरलाइन्सको जहाजबाट शुक्रबार बिहान काठमाडौं आइपुगेको हो ।

भूटानले आफ्ना खोप लगाउन योग्य नागरिक सबैलाई खोप लगाएपछि बचेको खोप नेपाललाई दिएको हो । स्वास्थ्य सेवा विभागका महानिर्देशक सिंहका अनुसार २१ बाकस खोप आइपुगेको छ ।
भुटानबाट आएको अष्ट्राजेनेका खोप नेपालमा कोभिशिल्डको पहिलो डोज लगाएका तर दोस्रो डोज लगाउन नपाएका ज्येष्ठ नागरिकललाई दिइने खोप शाखाले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्