माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, कार्यदलको प्रतिवेदन र मन्त्री छनौटबारे छलफल हुने

काठमाडौं, साउन २२ । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बस्दै छ । बैठक आज अपराह्न ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । आजको बैठकमा सरकार सञ्चलनका लागि सत्तारुढ दलको कार्यदलले बुझाएको प्रतिवेदन र मन्त्री छनोटबारे केन्द्रित रहेको छ ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको सात सदस्यीय कार्यदलले आजै बिहान गठबन्धनका शीर्ष नेतालाई सरकार सञ्चालनबारे प्रतिवेदन बुझाएको थियो । यसअघि माओवादी अध्यक्ष प्रचण्डले कार्यदलले प्रतिवेदन बुझाएपछि मन्त्रीबारे टुङ्गो लगाउने बताएका थिए ।यता माओवादीमा मन्त्री बन्ने आकांक्षी नेताहरु धेरै भएपछि नेतृत्वलाई छान्न सकस परिरहेको छ ।

गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले अहिलेसम्म आफ्नो मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन् । पहिलो चरणमा कांग्रेसका दुई र माओवादीका २ जना मन्त्री नियुक्त गरेका प्रधानमन्त्री देउवाले दोस्रो पटक स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए । श्रेष्ठको नियुक्तिको विषयलाई लिएर काँग्रेसमै आलोचना भएको थियो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि सार्वजनिक रुपमा नै मन्त्री बन्नका लागि पार्टीका सबै सांसद इच्छुक रहेकाले असहज भएको बताएका थिए । उता, नेकपा एमालेको वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहले निर्णय नगर्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । यता कांग्रेसमा पनि देउवाले मन्त्रीको टुंगो लगाउन सकेका छ्रन । यस विषयमा रहेर नेताहरु अहिले छलफलमा जुटेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्