संक्रमित बढेसँगै निषेधाज्ञा कडा बनाउँदै प्रशासन, उल्लंघन गर्नेलाई कारवाही गरिने

काठमाडौं , साउन १९ । कोभिड– १९ का सङ्क्रमित बढेसँगै जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ। निषेधाज्ञासँगै न्यून हुँदै आएको दोस्रो लहरको सङ्क्रमण निषेधाज्ञा खुकुलो भएसँगै बढेको हो।

यसैबीच जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्वास्थ्यका मापदण्ड उलंघन गर्नेलाई कारवाही गर्ने भएको छ। आज सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) काली प्रसाद पराजुलीले तेस्रो लहरको सम्भावना भएको भन्दै स्वास्थ्य मापदण्ड उलंघन गर्नेलाई कारवाही गरिने बताएका हुन्।

प्रजिअ पराजुलीद्वारा जारी सूचनामा भनिएको छ, ‘कोरोनाको जोखिम कायम रहेको अवस्था भएकाले तोकिएका स्वास्थ्यका मापदण्डको परिपालना नगर्ने, मास्कको उचित प्रयोग नगर्ने, भौतिकदुरी कायम नगरी अव्यवस्थितरुपमा सार्वजनिक गतिविधिहरु संचालन गर्नाले तेस्रो लहर आउन सक्ने सम्भावना देखिएको छ।’

‘स्वास्थ्य मापदण्ड विपरित यस्ता गतिविधिहरु नगर्नरनगराउन सबैलाई सूचित गरिन्छ। जारि निषेधाज्ञाको उलंघन गरी गतिविधि गरेमा वा गराइएमा प्रचलित कानुन अनुसार कडा कारवाही हुने व्यहोरा सूचित गरिन्छ,’ सूचनामा भनिएको छ।

कोरोना संकट व्यवस्थापन गर्नका लागि बनेको अध्यादेश २०७८ अनुसार स्वास्थ्य मापदण्ड र निषेधाज्ञा उलंघन गर्ने व्यक्ति भएमा १ लाख रुपैयाँसम्म जरिवाना र संस्था भए ५ लाख सम्मको जरिवाना प्रमुख जिल्ला अधिकारीले तत्काल गर्न सक्ने बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्