अफगानिस्तानमा दोहोरो भीडन्तमा परी ४१ जना तालिबानी लडाकु मारिए
काठमाडौं, साउन १९ । अफगानिस्तानको पश्चिमी भागमा रहेको हेरात शहरमा सुरक्षाबल र तालिबान लडाकुबीच भएको दोहोरो भीडन्तमा परी ४१ जना तालिबानी लडाकु मारिएका छन्।
त्यसैगरी सो भिडन्तको क्रममा अन्य ३२ जना लडाकु घाइते भएको गृह मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ।
सुरक्षाबल र तालिबान लडाकुबीच छ दिनसम्म जारी रहेको झडपपछि सुरक्षाबलले हेरात प्रान्तको प्रान्तीय राजधानी हेरात शहरको छिमेकमा रहेका कैयौँ शहर पुनःकब्जामा लिएका छन्।
सुरक्षाबलले तालिबान लडाकुबाट दुईवटा पुल पुनःनियन्त्रण लिएको मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ। गत बिहीबारबाट तालिबान लडाकुले हेरात शहरको दक्षिणी र पूर्वीभागबाट आक्रमण सुरू गरेर पूरै शहर कब्जा गर्न खोजिरहेका थिए।
अफगानिस्तानमा गत मे महिनादेखि तालिबान लडाकुले सरकार विरोधी लडाईलाई तीव्र बनाएको छ र तालिबान लडाकूले हालसालै प्रमुख शहर नियन्त्रणको लागि दबाब बढाएका छन्। रासस
प्रतिक्रिया दिनुहोस्