दार्चुला घटनाको प्रतिवेदन आएपछि सरकार जुनसुकै कदम चाल्न तयार पनि छ : गृहमन्त्री
काठमाडौँ , साउन १९ । गृहमन्त्री बालकृष्ण खाँणले महाकाली नदी पार गर्न राखिएको तुइनबाट दार्चुलाका जयसिंह धामी खसेर बेपत्ता भएको घटनाको प्रतिवेदन आएपछि सरकार जुनसुकै कदम चाल्न तयार रहेको जानकारी दिएका छन् ।
आज प्रतिनिधि सभाको बैठकमा शून्य समयमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाणले छानबिन समितिको प्रतिवेदन जे आएपनि सार्वजनिक हुने र त्यही आधारमा जस्तोसुकै कदम चाल्ने घोषणा गरे । उनले सरकारले अहिले सत्यतथ्यमा आधारित प्रतिवेदन पर्खिरहेको बताए ।
सांसदहरूले सोधेका प्रश्नको जवाफमा उनले भने, नागरिकको जीवन रक्षा गर्नु राज्यको मूल दायित्व हो । नागरिकको जीवन रक्षामा हामी गम्भीर छौं । बेपत्ताको छानबिन प्रतिवेदन पनि आएको छैन । प्रतिवेदन आएपछि छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएपछि अन्तिम निष्कर्ष निस्किनेछ ।
ुउनले भने तथ्य र सत्य पत्ता लगाएर प्रतिवेदन बनेपछि जे तथ्य हो त्यो सार्वजनिक गरिनेछ । त्यसमा पूर्ण अडान राखिनेछ । सत्य र तथ्यका आधारमा सरकार जुनसुकै कदम चाल्न पनि सरकार तयार छ ।
उनले दार्चुलाको ब्यास गाउँपालिका मालघाटमा साउन १४ गते जयसिंह धामी महाकाली नदीमा तुइनबाट नदी तर्ने क्रममा ज्यान गएको भन्दै नरेन्द्रसिंह धामीलगायत तीन जनाले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको उल्लेख गरे ।
घटना लगतै सशस्त्र प्रहरी नायव निरीक्षक बृर्जसिंह धामी, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्द, राष्ट्रिय अनुसन्धान दार्चुलाका विक्रमसिंह भाटसहित तीन जनाको टोली स्थलगत छानबिनका लागि घटनास्थल खटिएको र जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढस्थित जिल्लाधिकारीलाई सो घटनाबारे ध्यानाकर्षण गराउँदै पत्राचार गरेको गृहमन्त्री खाँणले सदनलाई जानकारी गराए ।
बहादुरसिंह धामी, गौरासिंह धामी लगायत चार जना जयसिंह धामी भन्दा अगाडि नै तुइन तरी पारी पुगेकाहरूसँग जानकारी लिने काम भइरहेको उनको भनाई छ । पुल तर्न बाँकी रहेका चार जनालाई जिल्ला सदरमुकाम बोलाई जानकारी लिने काम भइरहेको मन्त्री खाँणले उल्लेख गरे । दार्चुलामा रहेका विभिन्न सुरक्षा अङ्ग तथा भारतीय सुरक्षाकर्मी एसएसबीको तर्फबाट पनि बेपत्ता भएको धामीको खोजको काम भइरहेको मन्त्री खाँणले बताए ।
यस्तै साउन १७ गते मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा र दार्चुलाका सहायक जिल्ला अधिकारी जोत्सना भट्टको छानबिन समिति बनाएको र १० दिनभित्र प्रतिवेदन बुझाउन समय दिएको बताए । छानबिन टोली दार्चुला पुगेको उनको भनाई छ ।
यसैबीच गृहमन्त्री खाणले दार्चुलाको मालघाटबाट दार्चुला सदरमुकाम खलंगासम्म पुग्ने बाटो निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा मन्त्री खाणले दार्चुलाका मानिसहरु भारतको धार्चुला हुँदै सदरमुकाम खलंगा जानुपर्ने बाध्यता रहेको भन्दै उनले दार्चुलाको मालघाटबाट खलंगासम्म बाटो पुर्याउन प्रतिवद्ध रहेको बताएका हुन् ।















प्रतिक्रिया दिनुहोस्