दार्चुला घटना बारे राष्ट्रियसभामा गृहमन्त्री खाँणद्वारा जानकारी, छानविन समिती गठन

काठमाडौँ , साउन १८ । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला घटना बारे राष्ट्रिय सभामा जानकारी दिएका छन् ।

सोमबार राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री खाँणले दार्चुला घटनाका बारेमा जानकारी दिदै अहिलेसम्म भएका घटनाक्रमको बारेमा जानकारी दिएका हुन् ।

गृहमन्त्री खाँणले मन्त्रालयले घटनाको छानबिन गर्न समिति गठन गरेको जानकारी गराउदै समितिका पदाधिकारीहरु त्यसतर्फ प्रस्थान गरिसकेको बताएका छन् । भौगोलिक विकटताका कारण घटनास्थलमा पुग्न मुश्किल भएमा हेलिकप्टरबाट उनीहरुलाई घटनास्थलमा पुर्याइने उनले बताए ।

शुक्रबार दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले तुइन काटिदिँदा ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् ।

महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीले बताएका थिए ।  उनले पाँच छ जना तुइनबाट भारत तरेका थिए, जयसिंह तर्ने बेला एसएसबी पुगेर तुइन काटिदिएको बताएका थिए ।

छानविन समिती गठन

दार्चुला घटनाको छानबिन गर्न सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ ।

गृह मन्त्रीस्तरीय निर्णय अनुसार घटनाको स्थलगतरूपमा छानबिन गरी सत्यतथ्यसहित १० दिनभित्र प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो ।

छानबिन समितिमा नेपाल प्रहरीका नायब महानिरीक्षक पूरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्