प्रभुराम शर्मा कायम मुकायम प्रधानसेनापति नियुक्त
काठमाडौं , साउन १७ । राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी छन् ।
सैनिक ऐन, २०६३को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बलाधिकृत रथी शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरेकी हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘… नेपाली सेनाका प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाको तीन वर्षे पादवधि मिति २०७८/५/२४ गतेबाट समाप्त हुने भइ अनिवार्य अवकाश पाउने र नीत मिति २०७८/४/२५ गतेबाट घरबिदामा बस्नु हुने भएकाले हाल जेष्ठ्ताका क्रममा रहेका ब्य. नं. १३५३ बालाधिकृत रथी श्री पर्शुराम शर्मालाई सैनिक ऐन,२०६३ को दफा (३) अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८/४/१२ गतेको निर्णबाट सिफारिस भए बमोजिम मिति २०७८/४/६ गतेदेखि लागू हुनेगरी नेपाली सेनाको कायम मुकायम प्रधानसेनापति तोक्नु भएको छ ।’
प्रधान सेनापति पूर्णचन्द्र थापाको तीन वर्षे कार्यकाल भदौ २४ बाट समाप्त हुने तथा उनी साउन २५ गतेबाट घर बिदामा बस्ने भएकाले राष्ट्रपतिले कायम मुकायम तोकेकी हुन् । एक महिनापछि शर्मा नै प्रधान सेनापति बन्नेछन् ।
साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्