निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर पुगे फेरि सर्वोच्चमा
काठमाडौं , साउन १५ । निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर पुनः सर्वोच्च अदालत गएका छन् । आयोगले कार्यकारिणी समितिका सदस्यको बहुमतका आधारमा उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिएपछि ठाकुर आफन वारेस प्रदीपकुमार पाठकमार्फत पुनः अदालत गएका हुन् ।
यसअघि आयोगले कार्यकारिणी समितिमा पार्टी दर्ता हुँदा बखतका सदस्यहरूको संख्याका आधारमा पार्टीको आधिकारिकता दिने निर्णय गरेपछि यही साउन ८ गते पनि ठाकुरले सर्वोच्चमा रिट दायर गरेका थिए ।
ठाकुरको रिटमा प्रारम्भीक सुनुवाइ गर्दै शुक्रबारकै लागि पेशी तोकिएको थियो । सर्वोच्चले अन्तरिम आदेश नदिएका कारण आयोगले यादव पक्षलाई आधिकारिकता दिएपछि ठाकुरले पुनः सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
“निर्वाचन आयोगको साउन ११ गतको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भई यस पार्टीएको केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुने भएकाले समेत सम्पूर्ण सरोकारवालाई अपुरणीय क्षति पुग्ने भएकाले सुविधा सन्तुलनको दृष्टिबाट समेत यो रिट निवेदन अन्तिम टुंगो नलाग्दासम्म निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्नू नगराउनू भनी अन्तरिम आदेश जारी गरिपाऊँ,” महन्थको रिटमा भनिएको छ ।















प्रतिक्रिया दिनुहोस्