एकै परिवारका पाँच जना सवार जीप कर्णालीमा खस्यो , आमाबुबा बेपत्ता, तीन छोराछोरीको उद्धार

काठमाडौं, साउन १५ । कैलालीमा जिप दुर्घटना भई कर्णाली नदीमा खस्दा दुई जना बेपत्ता भएका छन्। मोहन्याल गाउँपालिका ७ बाँका स्थित चिसापानीदेखि सोल्टा जाने सडक खण्डमा जिप दुर्घटना भएको हो।

पाँच जना सवार रहेको जिप ब्याक गर्ने क्रममा नदीमा खस्दा दुई जना बेपत्ता भएका हुन् । उनीहरूको खोजी भइरहेको जिल्ला प्रकरी कार्यालय कैलालीका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए।

प्रहरीका अनुसार डोटीको आदर्श गाउँपालिकाका चन्द्रप्रकाश जोशीले चलाएको जिप चिसापानीदेखि सोल्टा जाने सडक खण्डको बाँकामा दुर्घटना भएको हो। जोशी आफ्नो परिवारसहित उपचारका लागि नेपालगन्ज गएका र त्यहाँबाट उपचार सकेर घर फर्किने क्रममा दुर्घटना भएको खुलेको छ।

जिपमा सवार १२ वर्षिया लक्ष्मी जोशी, ४ वर्षिया सावित्री जोशी र ३ वर्षीय भुवन जोशीको उद्धार गरिएको छ। त्यस्तै चन्द्रप्रकाश जोशी र रुपी जोशी बेपत्ता रहेको प्रहरीले जनाएको छ। घाइते दुई जनाको अवस्था गम्भीर रहेकोले उनीहरूलाई उपचारका लागि नेपालगन्ज लगिएको छ ।

प्रहरीका अनुसार घटनास्थलमा भेटिएको कागजपत्रमा गाडी नम्बर बा ११ च ९३८ नम्बर उल्लेख भएको भए पनि त्यसको पुष्टि हुन बाकी छ।

प्रतिक्रिया दिनुहोस्