चार पूर्व माओवादी नेताको मुद्दाको सुनुवाइ स्थगित, यस कारण भयो
काठमाडौं, साउन १४ । चार पूर्व माओवादी सांसदहरूले पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको सुनुवाइ स्थगित गरिएको छ ।
शुक्रबारका लागि सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको पेसी रिट निवेदकको निवेदनबमोजिम स्थगित गरिएको हो । शुक्रबार रिट निवेदक प्रभु साहका वारेश वीरेन्द्रप्रताप साह अदालत पुगेर सुनुवाइ स्थगित गर्न निवेदन दिएका थिए ।
सर्वोच्च अदालत नियमावली–२०७४ मा ‘मुद्दाको पक्ष वा कानुन व्यवसायीले आफ्नो काबुभन्दा बाहिरको परिस्थितिले गर्दा अदालतमा उपस्थित हुन नसक्ने कुराको अदालतलाई विश्वास हुने कारण देखाई मुद्दा पेसीको दिनभन्दा अघिल्लो दिन निवेदन दिएमा प्रधान न्यायाधीशले त्यस्तो मुद्दा दैनिक पेसी सूची प्रकाशन गर्दा नै स्थगित गर्न सक्नेछ ।’ भनी उल्लेख छ । उक्त रिट निवेदनको अर्को पेसी आइतबार तोकिने छ ।
यसअघि उक्त रिट निवेदन न्यायाधीश दीपककुमार कार्कीको इजलासमा बिहीबारका लागि पेसी तोकिए पनि हेर्न नभ्याइनेमा राखिएको थियो । एमाले स्थायी कमिटीमा रहेका लेखराज भट्ट र टोपबहादुर रायमाझी, केन्द्रीय सदस्य प्रभु साह र गौरीशंकर चौधरीले माओवादी दलमा रहँदा निर्वाचित भएको सांसद पद पुनर्बहाली माग गर्दै सर्वोच्च बुधबार रिट दायर गरेका थिए ।















प्रतिक्रिया दिनुहोस्