सरकारमा आउन माधव नेपाललाई भोलिसम्मको ‘अल्टिमेटम’

काठमाडौँ, साउन १४ । सत्तारुढ गठबन्धनले सरकारमा सहभागी मन्त्रालयको आज भागबण्डा टुङ्गो लगाएको छ । सरकार विस्तारमा अस्वभाविक ढिलाइ भइरहेको चर्चा चलिरहेका बेला मन्त्रीहरुको भागबण्डा मिलाएको हो ।

गठबन्धनले एमाले वरिष्ठ नेता माधवकुमार नेपालको सहभागिता विनै मन्त्रिपरिषदलाई पूर्णता दिने गरी भागबण्डा मिलाएको हो । आज बसेको सत्तारुढ गठबन्धनका नेताहरुको छलफलमा माधव नेपाल पक्ष विनै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको हो ।

नेपाल पक्षले सरकारका नजाने बताएको छ । तर यता सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वरिष्ठ नेता नेपाललाई सरकारमा आउन भोलिसम्मलाई ‘अल्टिमेटम’ दिएको छ । सरकार गठनको तीन साता हुन लाग्दा पनि मन्त्रिपरिषद् विस्तार हुन नसकेको अवस्थामा दुवै दलले नेता नेपाललाई सरकारमा आउन दबाब दिएका हुन्।

तत्कालीन केपी ओली नेतृत्वको सरकारविरुद्ध मोर्चाबन्दी गरेका पाँच दलीय गठबन्धनले नयाँ सरकार बनाएको लामो समय हुँदा पनि मन्त्रिपरिषद् विस्तार हुन नसकेपछि दबाबमा परेका छन्। यस्तो अवस्थामा सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार दिउँसो कोटेश्वर पुगेर नेता नेपाललाई भेटेका छन्।

उनले नेता नेपालसँगको भेटमा सरकार विस्तारमा भएको ढिलाइले नकारात्मक सन्देश गएको भन्दै चाँडो निर्णय लिन आग्रह गरेको स्रोतले बताएको छ।

प्रचण्डले कोटेश्वरमा पुगेर नेता नेपाललाई भोलिसम्मको समय दिएको बताइएको छ। यत प्रधानमन्त्री देउवा भोलि या आइतबारसम्म मन्त्रिपरिषद् विस्तार गरिसक्ने तयारीमा छन्। स्रोतका अनुसार माओवादी र जनता समाजवादी पार्टीले भोलिसम्ममा सरकारमा जाने अनुहारको टुंगो लगाइसकेपछि मन्त्रिपरिषद् विस्तार हुनेछ।

प्रधानमन्त्री देउवानिकट स्रोतका अनुसार सम्भवत आइतवार मन्त्रिपरिषद् विस्तार हुनेछ।

प्रतिक्रिया दिनुहोस्