बक्यौता भुक्तानी नपाए फेरि आन्दोलन गर्ने उखु किसानको घोषणा , दिए भदौ ५ सम्मको अल्टिमेटम
काठमाडौं , साउन १४ । जति माग र आन्दोलन गरेपनि उखु किसानहरुले चिनी मिलबाट आफ्नो बक्यौता भुक्तानी अझै पाउन सकेका छैनन् ।
अहिले सम्म नपाएको भन्दै फेरि उनीहरुले आन्दोलन गर्ने घोषणा गरेका छन् । भदौ ५ गतेसम्म आफुहरुका माग पुरा नभए आन्दोल गर्ने घोषणा गरेका हुन्. । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उखु किसान संघर्ष समिति सर्लाही, राष्ट्रिय कृषि श्रमिक संघ र उखु किसानहरुले विगतमा भएको सहमति पालना नभएको भन्दै अल्टिमेटम दिएका हुन् ।
उखु किसान संघर्ष समिति एवं नेपाल सरकार उद्योग मन्त्रालयवीच २०७७ साल पौष १३ गते पाँचबुँदे सहमति दोस्रो पटक भएको थियो । सहमति अनुसार २१ दिनभित्र उखु किसानहरुको सम्पूर्ण बाँकी बक्यौता रकम उद्योग मन्त्रालयले भुक्तानी गराउन जिम्मेवारी लिएको थियो । तर सम्पूर्ण रकम भुक्तानी नगाइएको संघर्ष समितिले जनाएको छ ।
उखु किसानहरुको दावी गरेको ९० करोडमध्ये २५ करोड रुपैयाँ उद्योग मन्त्रालयले विवादित भनी कार्यदलको प्रतिवेदनमार्फत् छिनोफानो गर्ने भनेपनि कार्यान्वयन नगरेको समितिको गुनासो छ ।
उखु किसानहरुसँग सम्बन्धित अन्य समस्याको बारेमा सम्झौता भएको १२० दिनपछि गठित कार्यदलको प्रतिवेदन सार्वजनिक गर्ने भनि पनि नगरिएको समितिले बताएको छ ।
उद्योग मन्त्रालयले तयार गरेको प्रतिवेदतमा उद्योगीहरुवाट कति रकम र नेपाल सरकारको अनुदानमध्ये कति रकम किसानहरुलाई दिनुपर्ने छ, त्यसको किटानी नगरेकाले संघर्ष समितिले हस्ताक्षर पनि गरेको छैन ।
‘
किसानहरुलाई कमजोर, निमुखा सम्झेर फेरि पनि रकम नदिने षड्यन्त्र उद्योगी र सरकारबाट भएको भन्दै पुनः काठमाडौं केन्द्रित आन्दोलन गर्न बाध्य हुने समितिले चेतावनी दिएको छ ।
‘
प्रतिक्रिया दिनुहोस्