सरकार विस्तारमा प्रचण्ड सक्रिय, प्रधानमन्त्री देउवा र नेपालसँग भेटवार्ता

काठमाडौँ , साउन १४ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र अन्य समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

त्यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आजै एमाले वरिष्ठ माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेका छन् । प्रचण्डले नेपाल पक्षलाई सरकारमा ल्याउने प्रयासस्वरूप भेटवार्ता गरेको बुझिएको छ । यद्यपी नेपाल पक्षले यसअघि बुधबार भएको सत्तारुढ गठबन्धनको बैठकमा सरकारमा सहभागी नहुने जानकारी गराएको थियो ।

बुधबार मात्र मन्त्रिपरिषद् विस्तार र समसामयिक विषयमा छलफल गर्न पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा बसेको थियो ।

काँग्रेस सभापति देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएसँगै कांग्रेस र माओवादी केन्द्रका तर्फबाट दुई(दुईजना मन्त्री राखेर मन्त्रीमण्डल गठन गरेका थिए । यस्तै प्रधानमन्त्री देउवाले गत आइतबार एक राज्यमन्त्री थप गरेका थिए ।

प्रधानमन्त्री देउवाले साउन ३ गतेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिएपछि सबै दललाई मिलाएर अगाडि बढ्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्