नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि अन्योलमा
काठमाडौं, साउन १४ । क्रियाशील सदस्यता विवाद टुंगो नलाग्दा नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि अन्योलमा परेको छ। महाधिवेशन पूर्वाधारका रूपमा रहेको क्रियाशील सदस्यता टुंगो नलाग्दा महाधिवेशन अन्योलमा परेको हो। महाधिवेशन सुरु हुन एक महिनामात्र बाँकी रहँदा कांग्रेसले बुधबारसम्म क्रियाशील सदस्यता टुंगो लगाउन सकेको छैन।
केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको सदस्यता छानबिन समितिले मंगलबार ८ लाख क्रियाशील सदस्यताको टुंगो लगाउँदै प्रतिवेदन बुझाएको छ। तर बारा र सप्तरीको नयाँ क्रियाशील सदस्यको फाइल खोलिएको छैन भने धनुषा र सर्लाहीका एकरएक निर्वाचन क्षेत्रको सदस्यता विवाद कायमै छ। सात सयभन्दा बढी वडाको सदस्यता टुंगो लाग्नै सकेको छैन। समितिले बुझाएको प्रतिवेदनमा पनि अझै प्राविधिक पक्ष मिलाउन बाँकी छ । त्यसलाई मिलाएर बिहीबार मध्याह्नसम्म अन्तिम प्रतिवेदन बुझाउन बुधबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले समितिलाई निर्देशन दिएको छ।
बारा र सप्तरीको नयाँ सदस्यको फाइल नै नखोलेको भन्दै नेताहरूले छानबिन समितिप्रति असन्तुष्टि जनाएका छन्। ‘सदस्यता फाराम नै नखोली त्यहाँ समस्या रहेको के गरी थाहा भयो’ भन्ने प्रश्न गर्दै नेताहरूले ती दुई जिल्लालाई पनि प्रक्रियामा लैजान समितिलाई निर्देशन दिएका छन्। ‘छानबिन समितिले बुझाएको प्रतिवेदनमा केही प्राविधिक पक्ष मिलाउन बाँकी छ,’ समिति सदस्य श्यामकुमार घिमिरेले भने, ‘त्यसलाई मिलाएर प्रतिवेदन बुझाउनेछौं।’
क्रियाशील सदस्यता विवाद स् १२१ वडामा स्थगित
कांग्रेस क्रियाशील सदस्यता विवादका कारण देशभर १२१ वटा वडामा स्थगित गरिएको छ । महाधिवेशनका लागि तल्लो तहका तथा सबैभन्दा महत्वपूर्ण मतदाताका रूपमा रहने क्रियाशील सदस्यता विषयमा छानबिन समितिले बुझाएको प्रतिवेदनअनुसार देशभर १२१ वडाको सदस्यता स्थगित गरिएको छ ।
यी वडाबाट आएका पुराना सदस्यतामात्र सदर गरी समितिले नयाँलाई १४औं महाधिवेशनपछि प्रक्रिया पु¥याएर कायम गर्नेगरी स्थगित गरेको हो । कांग्रेस क्रियाशील सदस्यता छानबिन समिति सदस्य तथा प्रवक्ता प्रदीप पौडेलले सयभन्दा बढी वडामा स्थगित गरिएको र ती सदस्यताको हकमा १४औं महाधिवेशनपछि निर्णय हुने जानकारी दिए ।
प्रतिवेदनअनुसार सुनसरी क्षेत्र ४ अन्तर्गत भोक्राहा गाउँपालिकाका ८ वटा वडाको सदस्यता स्थगित गरिएको छ । कोशी गाउँपालिका १, बराह क्षेत्र नगरपालिका ११ को पनि सदस्यता स्थगित गरिएको छ । यसैगरी महोत्तरी मनहरा सिसुवा नगरपालिका ८ र १०, सर्लाही बहरथहवा नगरपालिका ११, रौतहट देवाही गोनाही नगरपालिका ६, माधवनारायण नगरपालिका १,२ र ३, दुर्गा भगवती गाउँपालिका ४, यमुनामाई गाउँपालिका २ र ५, राजदेशी गाउँपालिकाको सदस्यता स्थगित भएको छ ।
त्यस्तै, पर्सा क्षेत्र ३ का सबै वडाको सदस्यता स्थगित गरिएको छ भने वीरगन्ज महानगरपालिकाका २२, २७, २९ र ३१ वडा, बहुदरमाई नगरपालिका वडा २ र ६, पसौगढी नगरपालिका ५, ६ र ७ को सदस्यता स्थगित गरिएको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, काभ्रे पाँचखाल नगरपालिका १२, ललितपुर ललितपुर महानगरपालि २८, महांकाल गाउँपालिका १, महालक्ष्मी नगरपालिका ६, काठमाडौं टोखा नगरपालिका ८, १० र ११, नागार्जुनको २, ३ र ६, तारकेश्वरको ३ र ६, कीर्तिपुर नगरपालिकाको २, दक्षिणकाली २, गोकर्णेश्वर १, २, ३, ४ वडाको पनि सदस्यता विवाद भएपछि स्थगित गरिएको छ ।
यसैगरी, धादिङ रुवीभ्याली गाउँपालिकाको ६ वटै वडा, चितवन रत्ननगर नगरपालिका ७, गुल्मी मुसीकोट नगरपालिका ५, कपिलवस्तु मायादेवी गाउँपालिका ३, कैलालीको क्षेत्र २ को जानकी गाउँपालिका वडा २, ५, ८ र ९ बाहेक २२ वटै वडा सदस्यता स्थगित गरिएको छ ।
उता, डोल्पा नयाँतर्फका सबै सदस्यता स्थगित गरिएको छ भने अछाम कमलबजार नगरपालिका ७ पञ्चदेवल विनायक नगरपालिका १, २, ४ डडेलधुरा नवदुर्गा गाउँपालिका ३ र अमरगढी नगरपालिका ५ को सदस्यता विवाद भएपछि स्थगित छ ।
यसैगरी, १३औं महाधिवेशन छानबिन समितिबाट सोलुखुम्बुको ५१५ र बाराको १६६ फाराम पनि यसपटकसमेत सहमति कायम हुन नसकेपछि पार्टी नेतृत्वसमक्ष पठाइएको छ । बारा र सप्तरी जिल्ला कार्यसमिति क्रियाशील सदस्यता विवरण ढिला विवरण प्राप्त भएकाले पूरै जिल्ला भरका क्रियाशिल सदस्यता प्रतिवेदनमा राखिएको छैन ।
पार्टी समायोजनका कारण सिन्धुपाल्चोक, रसुवा, काभ्रेपलाञ्चोक, धनुषा, सर्लाही, कैलालीका केही क्षेत्रको क्रियाशील सदस्यता विवाद टुंगिन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ । बाँकी विवाद पदाधिकारीबाटै मिलाउने प्रयास हुनेछ ।















प्रतिक्रिया दिनुहोस्