प्रदेश नम्बर २ र गण्डकी प्रदेशमा पूर्व प्रदेश प्रमुखहरुलाई नै फिर्ता ल्याउने माओवादीको निर्णय

काठमाडौं , साउन १२ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर २ र गण्डकी प्रदेशमा पूर्व प्रदेश प्रमुखहरुलाई नै फिर्ता ल्याउने भएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा प्रदेश २ मा तिलक परियार र गण्डकीमा अमिक शेरचनलाई ल्याउने निर्णय गरेको हो।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दुवै जनालाई प्रदेश प्रमुखबाट हटाएको थियो। ओलीले गरेका निर्णयलाई उल्ट्याएको सन्देश दिन माओवादी केन्द्रले उक्त निर्णय गरेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए।

उनका अनुसार मंगलवारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा कसलाई मन्त्री बनाउने भन्नेबारेमा छलफल भए पनि टुंगो भने लगाउन सकेन। बुधवार बस्ने स्थायी कमिटीको बैठकले पार्टीबाट सरकारमा जाने नेताहरुबारे निर्णय गर्ने तय भएको छ।

प्रतिक्रिया दिनुहोस्