काठमाडौंमा फेरि थपियो १० दिन निषेधाज्ञा , भिडभाडजन्य क्षेत्रमा अनुगमनको दायरा बढाइने
काठमाडौं , साउन १० । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ ।यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो ।
आज बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले साबिककै निषेधाज्ञालाई निरन्तरता दिइएको जानकारी दिए । ‘‘१० दिन अझै निषेधाज्ञा थप गरिएको छ । भिडभाडजन्य क्षेत्रहरुमा अनुगमनको दायरा बढाइनेछ,” उनले भने ।
निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन नभएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।
यसैबीच कोरोना संक्रमण तीब्र रुपमा फैलन थालेपछि स्थानीय तहहरुले कडाइ गर्न थालेका छन्। कोरोनाका संक्रमितको संख्या बढेपछि झापाको दमकमा सोमबार बिहानदेखि लकडाउन हुने भएको छ । यस्तै अन्य ठाउँमा पनि कडाइ गरिने भएको छ । यता काठमाडौं उपत्यकामा पनि पछिल्लो समय कोरोना संक्रमण बढेको छ ।
प्रतिक्रिया दिनुहोस्