फेरि पनि माधव समूहलाई ओलीले भने–भविष्य ध्वस्त नपार्नुस्, फर्किनुस् पार्टीले क्षमा गर्छ

काठमाठौं, साउन १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल समूहलाई राजनीतिक भविष्यलाई सम्झिएर पार्टीमा फर्किन आग्रह गरेका छन् ।

आज अखिल नेपाल महिला संघको भर्चुअल कार्यक्रममा उनले पार्टीले क्षमा गर्ने भन्दै फर्किन आग्रह गरेका हुन् । ‘पार्टीले क्षमा गर्छ । साथीहरु गल्ती नगर्नुस् । पार्टीमा फर्किनुस्’, ओलीले भने ।

केही व्यक्तिहरु प्रतिक्रियावादीसँग मिलेर पार्टी फुटाउने काममा लागिपरेको आरोप उनले लगाए । ‘केही व्यक्तिहरु आफ्ना स्वार्थका कारणले प्रतिक्रियावादीहरुको जालझेलको अंग बनेर, प्रतिक्रियावादीसँग भित्री साँठगाँठ गरेर, पार्टी ढाल्ने, सरकार ढाल्ने खेलमा सामेल भएको हामीले देखिरहेका छौं । प्रतिक्रियावादीसँग मिलेर सरकार ढालिरहेको देखेका छौं । आफ्नो पार्टी फुटाएर सजिलो बनाएको देखिरहेका छौं । आफ्ना सांसदलाई झुक्याएर वा प्रलोभनमा पारेर बाहिर लगेको देखिरहेका छौं’, उनले भने ।

ओलीले विरोधीका पछि लागेर आफ्नो भविष्य ध्वस्त पार्ने र आन्दोलनको भविष्य कमजोर किन पार्ने रु भन्दै प्रश्न गरे । उनले देश धेरै अप्ठ्यारो मोडमा पुगेको जिकिर पनि गरे । ओलीले पार्टीको पक्षमा उभिन आग्रह गरे । पार्टीविरोधी चक्रव्यूबाट बाहिर निस्कन अनुरोध गरे ।

‘पार्टीको पक्षमा उभिनुस् । देशले तपाईंहरुको स्वागत गर्छ । पार्टीले स्वागत गर्छ’, ओलीले भने । अहिलेसम्म भ्रममा रहेकालाई फर्किएर आउन उनले आग्रह गरे । उनले प्रतिगमन सच्चिन धेरै समय लाग्ने पनि बताए । उनले प्रतिगमन गम्भिर अवस्थामा पुगिसकेको समेत बताएका छन् ।

यता औपचारिक विभाजनको घोषणा हुन मात्र बाँकी नेकपा एमालेको एकता जोगाउन दोस्रो तहका नेताहरु र सांसदहरुले एकसाथ प्रयास जारी राखेका छन् । जेठ २ मा गठन भएर असार २७ मा १० बुँदे सहमति गरेपछि विघटित कार्यदलका सदस्यहरु र सांसदहरुबीच आइतवार दिउँसो १ बजे सिंहदरबारमा छलफलका लागि जुटेका छन् ।

कार्यदल सदस्यहरुसँग छलफलका लागि अहिलेसम्म करिब ३५ सांसद सिंहदरबारस्थित कृषि समितिको हलमा पुगिसकेको सांसद दीपकप्रकाश भट्टले जानकारी दिए । उनीहरुबबीच १० बुँदे सहमतिमा टेकेर पार्टी एकता बचाउन छलफल हुने सांसद भट्टले बताए ।

‘यो बैठकमा एमाले एकतामा देखिएको गतिरोधबारे कुराकानी हुनेछ । यसबारे सांसदहरुले कार्यदल सदस्यहरुसँग जिज्ञासा पनि राख्ने छन्’, उनले भने ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको सहमतिमा बनेको कार्यदलले १० बुँदे सहमतिमा हस्ताक्षर गरेर पार्टीलाई बुझाएको थियो । उक्त सहमतिलाई एमालेले अनुमोदन गरेको छ भने नेता नेपालले अझै सहमति जनाइसकेका छैनन् ।

पछिल्लो समय एमालेका दुवै समुहका सांसदहरु एकता बचाउन जुटेका छन् । ओली पक्षीय सांसदहरु कृष्णप्रसाद दाहाल, सूर्य पाठक, पदम गिरी, शान्ति पाख्रिन, यज्ञ बोगटी यसमा सक्रिय छन्। अर्कातिर माधव नेपाल पक्षीय यज्ञराज सुनुवार, झपट रावल, जयकुमार राई, दीपकप्रकाश भट्ट लगाय सांसदहरुले पनि दबाब बढाउँदै गर्दा कार्यदलसँग छलफल गर्न लागेका हुन् ।

हालै सकिएको एमाले केन्द्रीय कमिटी बैठकबाट विघटित कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल थिए । उता नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त सदस्य थिए ।

 

प्रतिक्रिया दिनुहोस्