निर्मलालाई न्याय दिलाउन कांग्रेस प्रवक्ताशर्माले गराए सरकारको ध्यानाकर्षण
काठमाडौँ । साउन १० । सत्तारूढ नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवारलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
उक्त घटनाको तीन वर्ष पुगेको सन्दर्भमा शर्माले आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो आग्रह गरेका हुन् ।
‘बालिका निर्मला पन्तको प्रकरण आज साउन १० गते ३ वर्ष पुग्यो,’ उनले लेखेका छन्, ‘सम्माननीय र माननीय गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।’ बालिका र महिलाउपर हिंसा, बलात्कार र हत्याका घटना नियन्त्रण गर्न राज्यको कठोरतासँगै राजनीतिक द्वन्द्वभन्दा माथि सामाजिक रूपान्तरणको साझा अठोट र अभियान जरुरी रहेकोमा शर्माले जोड दिएका छन् ।
‘प्रतिपक्षमा छँदा प्रश्न थिए हामीसँग सत्तारूढ बनेपछिको समयले जवाफ माग्छ सरकार भर्खर बनेको छ, अब गहन दायित्व निभाउन विशेष गम्भीरता अपेक्षित छ,’ उनले लेखेका छन्, ‘निर्मलालाई न्यायसँगै, कसैले पनि यस्तो नियति भोग्न नपरोस्, विशेष तदारूकता बढाऔं ।’
कञ्चनुपरकी बालिका निर्मलाको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो । भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित साथीको घरमा गएकी उनको भोलिपल्ट महेन्द्रनगर–उलटाखाम सडकछेउ उखुबारीमा शव भेटिएको थियो ।
उक्त प्रकरणमा केही सन्दिग्धलाई पक्राउ गरेर छाडिदिएको प्रहरीले अझै प्रमाण जुटाउन सकेको छैन । वर्षौंसम्म दोषी पत्ता नलाग्दा न्याय पाउने आस मर्दै गएको परिवारको गुनासो छ । निर्मलालाई न्याय माग्दै भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक जनाको ज्यानसमेत गएको थियो ।















प्रतिक्रिया दिनुहोस्