ओलीलाई नेपालको जवाफ– मैले गल्ति गरे, अब स्पष्टिकरण फिर्ता लिन्छु भनेको भए के हुन्थ्यो ?

काठमाडौँ , साउन ८ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई महाराजधिराजको संज्ञा दिएका छन् ।

शुक्रबार पुष्पलाल मित्रता केन्द्रद्वारा आयोजित ४३औं पुष्पलाल स्मृति दिवसका अवसरमा बोल्दै नेता नेपालले महाराजको संज्ञा दिदै ओलीले दिएको आममाफी दिने अभिव्यक्तिलाई महाराजधिराजको हुकुम भनेका हुन् ।

उनले भने, ‘हिजो महामहिम श्री ५ महाराजधिराजबाट आदेश आयो, माधवकुमार नेपाल लगायतलाई सबैलाई आम माफी दिइन्छ । एम्नेष्टी इज ग्रान्टेड । हामी गदगद भयौं । के त्यही हो कम्युनिष्ट आदर्श रु मैले गल्ति गरे, अब स्पष्टिकरण फिर्ता लिन्छु भनेको भए के हुन्थ्यो ?’

प्रधानमन्त्रीले दुई दुई पटक संसद विघटन गरेर पनि गल्ति महसुस नगरेको बताउदै आफुहरुले संसदलाई जोगाएर कार्यपालिकाको रक्षा गरेको बताए । नेता नेपालले आफुहरुले गरेको कामको आफुलाई गौरवबोध भएको भन्दै विश्वासको मत दिने सबै २२ जनालाई सलाम गर्ने बताए ।

उनले आफुले बिहीबार भक्तपुरमा पिपुल्स भोलिन्टियर गठन गर्दा कार्यकर्तालाई ‘बाँदर’ बनेर नहिँड्न निर्देशन दिएको पनि बताए ।

उनले कोटेश्वरमा आफ्नो निवास अगाडि राती मोटरसाइकलमा बसेर आफुलाई तर्साउन खोजेको बताउदै आफू त्यस्तो प्रवृतिबाट नतर्सिने उनले बताए ।नेता नेपालले कम्युनिष्ट आन्दोलन संकटमा परेको बताउँदै चुनौतीको सामना गर्दै अघि बढ्ने बताए ।

नेता नेपालले गफले मात्रै कम्युनिष्ट आन्दोलन अघि नबढ्ने र बन्दुकले पनि कम्युनिष्ट आन्दोलन अगाडि नबढ्ने उल्लेख बताउदै उनले समाजवादबाट भागेर जंगलमा गएर मात्र पनि कम्युनिष्ट आन्दोलनको रक्षा नहुने बताए ।

कम्युनिष्ट पार्टी कस्तो हुने भनेर विवाद भइरहेका बेला चीनको कम्युनिष्ट पार्टी धेरै माथि पुगेको उदाहरण दिए । उनले विश्वभरका पुँजीवादीहरुको चीनको समाजवादी ब्यवस्था चम्किरहेको देखेर चकित परिरहेको टिप्पणी गरे ।

उनले आफूपनि पुष्पलालको विचारधाराबाट राजनीतिमा आएको उल्लेख गर्दै आफू बदलिए मात्रै समाजलाई बदल्न सक्ने बताए । उनले संसारमा कुनैपनि व्यवस्था सक्षम र प्रभावकारी नभएको बताउँदै मैदान छोडेर समस्याको समाधान नभएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्