सुजिता भण्डारी प्रकरण : विवाह गर्न अस्वीकार गरेपछि आत्महत्या गरेको दाबी, दाइ पक्राउ
काठमाडौं, साउन ८ । चितवनकी सुजिता भण्डारीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। राप्ती नगरपालिका–३ की सुजिता भण्डारीको मृत्युको घटनामा दाइ नाता पर्ने सचिन भन्ने २३ वर्षीय सुकदेव भण्डारीलाई चितवन प्रहरीले पक्राउ गरेको हो ।
चितवन प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएको हो । परिवारले आत्महत्या दुरुत्साहनमा जाहेरी दिएपछि भण्डारीलाई पक्राउ गरिएको चितवन प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए ।
सुजिताले सुकदेवलाई विवाह गर्न दबाब दिएको समेत अनुसन्धानबाट खुलेको छ । तर, आफ्नै काकाको छोरीलाई विवाह गर्न सामाजिक र नैतिक हिसावमा नमिल्ने भन्दै सुकदेवले इन्कार गरेको खुलासा भएको अधिकारीले बताए । आफूसँग विवाह नगरे आत्महत्या गर्ने भन्दै सुजिताले बारम्बार धम्की दिने गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । सुजिता र सुकदेवका बुवा दाजुभाइ हुन् ।
त्यसअघि पनि नजिकको नातामा सम्बन्ध अघि नबढाउन परिवारले दुवैलाई जनालाई पटक–पटक आग्रह गरेको कुरा पनि खुल्न आएको छ । परिवारले अस्वीकार गर्ने देखेर विवाह गर्ने र त्यसपछि अपहरणमा परेको नाटक गरी लुकेर बस्ने बारे दुई जनाबीच कुराकानी समेत खुल्न आएको छ ।
त्यस्तै प्रहरीले बरामद गरेको सचिनको फोन र सुजिताको फोनमा भएको मेमोरी कार्ड पनि सामाखुसीस्थित ल्याबमा पठाएको र त्यसबाट डिलिट गरिएका तस्वीरहरू समेत पाइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनामा थप अनुसन्धान अघि बढाएको छ।
असार ११ गते एक्कासि हराएकी सुजिताको असार २० गते चितवनको जंगलमा शव फेला परेको थियो।
प्रतिक्रिया दिनुहोस्