धर्नामा रहेका नेता–कार्यकर्ताको माग आजै सुनुवाइ गर्न देउवाको निर्देशन

काठमाडौं, साउन ८ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको क्रियाशील सदस्यता छानबिनका विषयमा अनशनमा बसेका नेता–कार्यकर्ताको माग आज दिनभरिमा सुनुवाइ गर्न छानबिन समितिलाई निर्देशन दिएका छन्।

बुढानीलकण्ठस्थित देउवानिवासमा आज शुक्रबार बसेको पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा उनले यस्तो निर्देशन दिएका हुन्।

उनीहरूको माग आज दिनभरमा सुनुवाइ गरी भोलि बिहान बस्ने पदाधिकारी बैठकमा पेस गर्न प्रधानमन्त्रीसमेत रहेका देउवाले समितिलाई सचेत गराएको बैठकपछि पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

‘सभापतिजीले निर्देशन दिनुभएको छ– पार्टीको क्रियाशील सदस्यताको विषयलाई लिएर जो पार्टी कार्यालयमा अनशन बस्दै आउनुभएको छ, उहाँहरूको मागको सुनुवाइ आजैै गरी भोलि बस्ने बैठकमा पेस गर्नू,’ बैठकपछि शर्माले सञ्चारकर्मीहरूलाई बताए।

कांग्रेसको पदाधिकारी बैठक भोलि शनिबार बिहान ९ बजे देउवानिवास बुढानीलकण्ठमै बस्नेछ । बैठकमा आसन्न १४औँ महाधिवेशनका लागि साउन १२ गतेदेखि सुरु गर्ने भनिएको पार्टीको तल्लो तहको अधिवेशन सार्ने गरी मिति तय गर्ने पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्