सकियो एमाले बैठक : पार्टी एकताको लागि अन्तिम प्रयत्न , गल्ती सच्याएर आए स्वागत
काठमाडौं , साउन ७ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ । बैठकले पार्टी एकताको प्रयासलाई निरन्तरता दिन र पार्टी एकताका लागि आम माफी दिएर भने पनि धेरै व्यक्तिलाई समेट्न अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारी दिएको छ ।
विहीबार सम्पन्न केन्द्रीय कमिटीको दशौं बैठकले पार्टी एकताको लागि अधिकतम प्रयास राख्ने भन्दै अनुशासन उल्लंघनका घटनालाई पनि माफी दिन सकिने निष्कर्ष निकालेको छ ।
साउन ४ गतेबाट शुरु भएर आज सकिएको एमाले केन्द्रीय कमिटीको बैठकले ‘बाटो बिराएका, आन्दोलनको अहित हुने गतिविधिमा संलग्नलाई गल्ती सच्याएर आएमा स्वागत गर्ने’ पनि निष्कर्ष निकालेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘कमसेकम नेतृत्वको तर्फबाट पार्टीलाई समेट्ने मामिलामा अधिकतम प्रयत्न गर्ने निष्कर्ष बैठकले निकालेको छ । अध्यक्षले पार्टी एकतालाई सुदृढ गर्ने गरी आउन चाहनेलाई विगतका गल्ती बिर्सेर पनि स्वागत गर्न सकिने बताउनुभएको छ । छलफल चलिरहेकाले यस बारेमा अरु निर्णय गरेका छैनौं ।’
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास गर्ने बताएको ज्ञवालीले बताए । उनका अनुसार विघटित कार्यदलका सदस्यहरुबीच अहिले पनि निरन्तर संवाद भइरहेको छ ।















प्रतिक्रिया दिनुहोस्