यातायत व्यवसायीको काठमाडौँमा सवारीसाधनसहित र्‍याली, माग सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी

काठमाडौँ, साउन ७ । भाडा समायोजनको माग गर्दै यातायत व्यवसायी सडकमा आएका छन् । सात बुँदे मागसहित उनीहरुले सडक आन्दोलन थालेका हुन् ।

भाडा समायोजन र कोरोनाविरुद्धको खोपलगायतका सात बुँदे माग राख्दै यातायात व्यवसायीले काठमाडौँमा सवारीसाधनसहित र्‍याली निकालेका छन् ।

उपत्यकाको चक्रपथमा निकालिएको र्‍यालीका कारण यातायात अस्तव्यस्त बनेको थियो । ट्याक्सिदेखि सबै प्रकारका सार्वजनिक यातायातको र्‍यालीका ट्राफिक जामको समस्या पनि देखिएको हो ।

सार्वजनिक यातायात केन्द्रीय महासंघले कोभिड खोप, यातायातको भाडा एवं ट्याक्सीको सुरुवाती कल समायोजन, मौद्रिक नीति, ४० वर्ष पुगेका सवारीको अवधि थप, यातायातको बीमा छुट, सडक कानुन, यातायात कागजपत्र नवीकरण र जरीवाना छुट लगायतका माग अघि सार्दै बिरोध जनाएका हुन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका उपमहासचिव रामहरी श्रेष्ठले आफुहरूले पटक पटक आफ्ना मागका बारेमा सरकारको ध्यानाकर्षण गराएपनि नसुनेपछि बाध्य भएर बिरोधमा उत्रनुपरेको बताए ।

भाडा समायोजन गर्दा वैज्ञानिक समायोजन नभएको, कोरोनाका कारण समस्यामा परेका व्यवसायीलाई कुनै राहत नदिएको उनको गुनासो छ ।

त्यस्तै ट्याक्सी व्यवसायीले न्युनतम भाडा वृद्धि गर्नुपर्ने माग गरेका छन् । व्यवसायीहरूले पहिलो चरणको विरोधको कार्यक्रमबाट पनि आफुहरूको माग सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्