कांग्रेस महाधिवेशनः भौतिक उपस्थित नहुने अवस्था आए डिजिटल भोटिङ ! 

काठमाडौं , साउन ५ । नेपाली कांग्रेसले पार्टीको आगामी १४औं महाधिवेशमा भौतिक उपस्थित हुन सक्ने अवस्था नभए ‘डिजिटल भोटिङ’ सक्नेछ । पार्टी सूचना सञ्चार तथा प्रचार विभागले डिजिटल भोटिङको अवधारणालाई अन्तिम रुप दिँदै डिजिटल भोटिङ गर्न प्रस्ताव गरेको हो ।

कांग्रेस प्रवक्तासमेत रहेका विश्वप्रकाश शर्मा प्रमुख रहेको विभागको गत असार २४ र २५ गते बसेको बैठकका निर्णय आज सार्वजनिक गरेको छ । ‘कोरोना महामारी न्यून भएर महाधिवेशन भौतिक रुपमै आयोजना गर्न सकिने आशाका बाबजुद विभागले ‘डिजिटल भोटिङ’को आफ्नै आन्तरिक प्रविधि विकास र सुनिश्चित गरेको छ,’ विभागको निर्णयमा भनिएको छ, ‘केन्द्रीय समितिले जरुरी ठहर गरेर निर्णय गरेका खण्डमा शून्यबाट सुरु गर्नु नपर्ने गरी विकास गरिएको प्रविधि तत्काल आवश्यक नपर्दा भविष्यका लागि पार्टीसँग प्रविधिको सम्पत्ति र सक्षमता सुरक्षित हुने विश्वास विभागले लिएको छ ।’

विभागले ७७ जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशनका प्रतिनिधिले मतदान गर्न सक्ने व्यवस्था गरिएको प्रविधिमार्फत १४औँ महाधिवेशनमै केन्द्र र सात प्रदेशको निर्वाचनसम्बन्धी सबै प्रक्रिया सम्पन्न गर्न सकिने क्षमता भएको जनाएको छ ।

विभागका अनुसार डिजिटल भोटिङको नमुना प्रदर्शनीको आन्तरिक कार्य योजना समेत बैठकले तय गरेको छ भने जिल्ला तहसम्म प्रविधि प्रशिक्षण र सहजीकरणका लागि दक्ष इन्जिनियरहरुको नेटवर्क तयार गरिएको छ ।

विभागले तयार पारेको प्रविधिमैत्री अभियानको प्रतिवेदन केन्द्रीय समितिमा पठाउन लागिएको छ । ‘प्रविधिमैत्री अभियानअन्तर्गतको थप प्रगतिबारे पार्टी केन्द्रीय समितिमा प्रतिवेदन पठाउने र केन्द्रीय समितिको निर्देशनअनुरुप प्रविधिको अन्य व्यवस्थापकीय प्रबन्ध निश्चित गर्ने निर्णय बैठकले गरेको छ,’ विभागले सार्वजनिक गरेको निर्णयमा भनिएको छ । कांग्रेसको प्रचार विभागले पहिलो बैठकबाटै प्रविधिमैत्री अभियान थाल्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्