प्रचण्डको सुरक्षामा डीएसपी नेतृत्वको १० सुरक्षाकर्मी , नेपालको सुरक्षा पनि बढाइयो
काठमाडौँ, साउन ५ । सरकारले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई खटाएको छ ।
सुरक्षा चुनौती भन्दै गृहमन्त्री बालकृष्ण खाँडको निर्देशनमा प्रचण्डलाई डीएसपीको नेतृत्वमा सुरक्षा दिने निर्णय अनुरुप सुरक्षाकर्मी खटाइएको गृहमन्त्रालयले जनाएको छ ।
अहिले प्रचण्डको सुरक्षामा डीएसपी विनोद घिमिरेको नेतृत्वमा १० सुरक्षामर्की खटाइएको मन्त्रालयका एक अधिकारीले जनाए ।विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ मा अनुसार प्रधानमन्त्रीलाई मात्रै डीएसपीको नेतृत्वमा सुरक्षा दिने व्यवस्था छ ।
कार्यविधिअनुसार पूर्वप्रधानमन्त्रीको हैसियतमा प्रचण्डले आजीवन प्रहरी निरीक्षकको नेतृत्वमा १५ जना सशस्त्र र दुई जना नेपाल प्रहरीका कर्मचारी सुरक्षार्थ प्रयोग गर्न सक्छन् ।
यस्तै नेकपा एमालेका नेता माधवकुमार नेपालको सुरक्षा बढाएको छ । प्रहरी अधिकारीहरुका अनुसार ओली समूहका कार्यकर्ताबाट थ्रेट बढेको भन्दै सुरक्षाकर्मी थप गरिएको हो । अहिले नेपाल र ओलीका कार्यकर्ताहरुले छुटाछुटै विरोध गरिरहेका छन् । यस कारण पनि उनीहरुको सुरक्षा बढाएको हो ।















प्रतिक्रिया दिनुहोस्