पहिरोका कारण सुदूरका पहाडी जिल्ला जोड्ने दुई राजमार्ग अवरुद्ध

काठमाडौं, साउन ५ । देशभर मनसुन सक्रिय रहेकाले आज पनि धेरै ठाउँमा पानी परिरहेको छ । काठमाडौंमा पनि पानी परिरहेको छ भने अन्य प्रदेशहरुमा पनि वर्षा भइरहेको हो । वर्षाले गर्दा विभिन्न राजमार्ग जोड्ने सडकहरु अवरुद्ध समेत भएका छन् ।

उता शनिबारदेखि भइरहेको लगातारको वर्षाका कारण सुदूरपशिचम प्रदेशका पहाडी जिल्ला जोड्ने दुई राजमार्ग अवरुद्ध भएका छन्। बैतडीको सर्नयामा आएको पहिरोका कारण महाकाली लोकमार्ग अवरुद्ध भएपछि दार्चुलाको यातायात सेवा प्रभावित बनेको छ।

महाकाली राजमार्गअन्तर्गत सतबाँझ–गोकुलेश्वर सडकखण्डमा पर्ने बैतडीको सुर्नया गाउँपालिका(३ धरमघरमा पहिरो खसेपछि दार्चुला र बैतडीका केही स्थानको यातायात सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

सडकमाथिबाट पहिरो खसेकाले अहिले गाडीहरू बीचबाटोमै रोकिएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए। अहिले पहिरो पन्छ्याउनका लागि प्रयास भइरहेको उनले बताए।

लगातारको वर्षाकै कारण जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको ढोल्यामोडमा पहिरो खस्दा बझाङ जिल्लाको यातायात अवरुद्ध भएको छ। मंगलबार बिहान खेसेको पहिरो पञ्चाउने काम भएरहेको बैतडीका प्रबक्ता प्रहरी निरीक्षक ओझाले बताए।

प्रतिक्रिया दिनुहोस्