गौशाला नगरपालिकाको रु ९० लाख अवैधानिक तरिकाले हिनामिना भएको खुलासा

काठमाडौं । महोत्तरी जिल्ला गौशाला नगरपालिकाको रु ९० लाख अवैधानिक तरिकाले हिनामिना भएको खुलेको छ ।

नगरपालिकाको बैंक खाताबाट एकै दिनमा त्यति ठूलो रकम अवैधानिक रुपले निकासा भएको रहस्य सार्वजनिक भएको छ । नेपाल बैंक लिमिटेडको शाखा कार्यालय गौशालास्थित बैंकको खाताबाट भदौ १९ गते रु ९० लाख निकालेको रहस्य सार्वजनिक भएको हो ।

कार्यकारी अधिकृत रामजी जोशीलाई थाहै नदिइकन खाताबाट रु एक रुपैयाँ समेत नराखी खाताबाट सबै रकम निकालिएको खुलासा भएको हो । भदौ २९ गते कर्मचारीलाई तलबका लागि चेक काटेपछि खातामा पैसा नरहेको नगरपालिकाका कार्यकारी अधिकृत रामजी जोशीले जानकारी पाएको स्रोतले जानकारी दियो । खातामा पैसा नरहेको जानकारी पाएपछि अनुसन्धान गर्दै जाँदा एकै दिन ९० लाख झिकिएको खुलासा भएको हो ।

कार्यकारी प्रमुख निर्वाचनमा व्यस्त भएको मौका पारि नगरपालिकाका केही कर्मचारीको मिलोमतोमा सो रकम हिनामिना भएको हो । गौशाला नगरपालिकाले पछिल्लो एक महिनाको अवधिमा विभिन्न मितिमा रु दुई करोड ६४ लाख बराबरको कारोबार गरेको छ । तर कारोबारको कुनै किसिमको कागजात अहिलेसम्म कार्यकारी प्रमुखलाइ प्राप्त नभएको जानकारी स्रोतले दियो ।

प्रतिक्रिया दिनुहोस्