एमालेले देउवालाई विश्वासको मत दिने नेपालसहित २२ सांसदलाई स्पष्टिकरण सोध्ने
काठमाडौं , साउन ४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई नेकपा एमालेले स्पष्टिकरण सोध्ने भएको छ ।
आज बसेको केन्द्रीय कमिटी बैठकमा पार्टी अनुशासन नमानेको भन्दै २२ सांसदलाई कारबाही गर्ने प्रस्ताव पेश भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
बैठकमा २२ सांसदलाई आजै कारबाही गर्नुपर्छ भन्दै केन्द्रीय सदस्यहरुले होहल्ला गरे पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टिकरण सोध्ने प्रावधान पनि रहेको बताएका थिए । ती सांसदलाई २४ घण्टाको समय दिएर स्पष्टीकरण सोध्ने बताएका छन्। पार्टीको केन्द्रीय कमिटी बैटक सुरु गर्दै अध्यक्ष ओलीले यस्तो प्रस्ताव गरेका हुन्।
प्रतिनिधिसभामा देउवाले हिजो लिएको विश्वासको मतको पक्षमा एमाले नेता माधवकुमार नेपालसहितका २२ सांसदले मतदान गरेका थिए ।
यी हुन् देउवालाई विश्वासको मत दिने २२ एमाले सांसद
आइतबार राति प्रतिनिधिसभा बैठकमा २२ सांसदले विश्वासको मत दिएका थिए।
विश्वासको मत दिनेमा सांसदहरु प्रेम आले, हिराचन्द्र केसी, किसान श्रेष्ठ, पावर्ती विसङखे, कलिला खातुन, विनादेवी बुढाथोकी, धनबहादुर बुढा र समिमा हुसेन रहेका छन्।
त्यसैगरी, वरिष्ठ नेता माधवकुमार नेपालसहित रामकुमारी झाक्री, मेटमणि चौधरी, विरोध खतिवडा, मुकुन्द न्यौपाने, निरादेवी जैरु, सरला यादव, लक्ष्मी चौधरी, पुष्पा कर्ण, कृष्णलाल महर्जन, भवानी खापुङ, कल्याणी खड्का, सरला यादव र गोपाल बम छन्।















प्रतिक्रिया दिनुहोस्