एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै , होला त पार्टी निर्देशन नमान्नेलाई कारबाही ?
काठमाडौँ, साउन ४ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।बैठक बिहान ११ बजे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने भएको हो ।
बैठकमा पार्टी विवाद, संगठन निर्माण र विधान अधिवेशनका विषयमा छलफल हुने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।एमाले साउनको अन्तिममा विधान अधिवेशन गर्ने तयारी गरेपछि त्यसको तयारीमा आजको बैठक केन्द्रित हुनेछ ।
यसअतिरिक्त स्थायी कमिटी बैठकको निर्देशन अवज्ञा गर्दै आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको विपक्षमा मत नहालेका ३२ सांसदलाई के गर्ने भन्नेबारे पनि आजको बैठकमा छलफल हुने उनले बताए ।
एमालेका ३२ मध्ये २२ जनाले देउवाको पक्षमा मत दिएका थिए भने १० जना तटस्थ बसेका थिए । विश्वासको मत दिने र तटस्थ बसेकाहरुलाई एकैखाले व्यवहार नहुने उनको भनाइ छ ।
सोमबारको स्थायी कमिटी बैठकले देउवाको पक्षमा मत दिनेहरु एमालेमा नरहने निर्णय गरेको थियो । तर, संविधानको धारा ७६(५ को सरकारलाई विश्वासको मत दिँदा ह्वीप नलाग्ने र त्यसैआधारमा कारबाही गर्न नपाइने सर्वोच्च अदालतले फैसला सुनाएकाले उनीहरुलाई अरु नै कुनै कारण देखाएर कारबाही गर्ने तयारी एमालेको छ ।
एमाले स्थायी कमिटिको बैठकले हिजो देउवाको पक्षमा मतदान गर्ने सांसदहरु एमाले रहन नसक्ने निर्णय गरेको थियो । आजको बैठकले नेकपा एमालेमा विगत तीन महिनादेखि जारी एकताको प्रयासलाई कता लैजान्छ भन्ने चासो बढेको छ ।
०७७ फागुन २३ मा सर्वोच्च अदालतले एमाले ब्यूँताएपछि ०७५ जेठ २ का साविकका कमिटी व्यूँताएर पार्टी अघि बढाउनु पर्ने मागसहित एमालेको नेपाल-खनाल पक्ष संघर्षरत छ ।
तर, आफ्नै पार्टीको सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाएको भन्दै नेपाल-खनाल पक्षसँग संस्थापन पक्ष सकारात्मक छैन ।















प्रतिक्रिया दिनुहोस्