निरंकुश प्रवृत्तिको पराजय र नेपाली जनताको जित भयो : माधव नेपाल
काठमाडौँ ,साउन ४ । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले निरंकुश प्रवृत्तिको पराजय र नेपाली जनताको जित भएको बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेता नेपालले संसद् बैठकपछि नेपाली जनताको जित भएको बताएका हुन् ।
नेता नेपालले परिणामले पटकपटक प्रतिनिधिसभा विघटन गलत भएको पुष्टि गरेको बताए । ‘संविधानको पक्षमा दलहरूले अभिमत दिनुभएको छ,’ उनले भने, ‘यो प्रतिनिधिसभाले स्थायित्व दिन सक्दैन भन्ने स्थापित गर्न खोजिएको थियो तर त्यो असफल भई निरंकुश प्रवृत्तिमा अंकुश लागेको छ ।’
यता आइतबार राति संसद्मा भएको मतदानमा एमालेका ३२ सांसदले पार्टीको निर्णय उल्लंघन गरेका छन् ।नेकपा एमालेको आइतबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध मत नहाल्न सांसदहरूलाई निर्देशन दिएको थियो । पार्टीको निर्णय नमानेर देउवाका पक्षमा मत हाल्ने सांसदहरू एमालेमा नरहने पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताएका थिए ।
तर वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनाले देउवाका पक्षमा विश्वासको मत दिएका छन् भने नेपालनिकट १० सांसद मतदानको समयमा बैठककक्षबाट बाहिरिए । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका आठ जना सांसदले पनि देउवाका पक्षमा माधव नेपालसँगै फ्लोर क्रस गरे ।















प्रतिक्रिया दिनुहोस्