प्रतिनिधिसभा पुनर्स्थापना भएकोमा सभामुखले दिए सबै सांसदलाई बधाई, सर्वोच्चप्रति आभार प्रकट
काठमाडौं , साउन ३ । प्रतिनिधिसभाको बैठक अहिले जारी छ । । संसद् भवन नयाँ बानेश्वरमा आठौँ अधिवेशनको पहिलो बैठक बसेको हो ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनेलगायत कार्यसूची छ । यस्तै सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुनर्स्थापना भएकोमा सबै सांसदलाई बधाई दिएका छन् । संवैधानिक इजलासले प्रतिनिधिसभा पुनःस्थापनासँगै एक साताभित्र प्रतिनिधिसभाको बैठक राख्न दिएको आदेश अनुसार आइतबार बसेको बैठकमा सभामुख सापकोटाले सबै सांसदलाई बधाई दिएका हुन् ।
उनले बैठकमा भने, ‘सार्वभौमिक सत्ता र लोकतन्त्रको अभ्यास गर्ने सर्वोच्च जनप्रतिनिधि संस्था प्रतिनिधिसभा पुनःस्थापित भएको यस गौरवपूर्ण अवसरमा सम्पूर्ण माननीय सदस्यलाई बधाई दिँदै हार्दिक स्वागत गर्न चाहन्छु ।’ प्रतिनिधिसभाको सार्वभौम अधिकार पुनःस्थापित गर्न योगदान पु¥याउने सबैलाई उनले धन्यवादसमेत दिए ।
यस्तै प्रतिनिधिसभा पुनर्स्थापनाको ऐतिहासिक फैसला गरेको भन्दै सभामुख सापकोटाले सर्वोच्च अदालतप्रति आभार प्रकट गरेका छन । ‘संविधानको मर्म र भावना एवं लोकतन्त्रको सार्वभौम मान्यताअनुसार प्रतिनिधिसभालाई पुनर्स्थापना गर्ने ऐतिहासिक फैसलाका लागि सम्मानित सर्वोच्च अदालतप्रति आभार प्रकट गर्न चाहन्छु,’ उनले भने ।















प्रतिक्रिया दिनुहोस्