एमाले बैठकको निष्कर्ष : देउवालाई विश्वासको मत दिने पार्टीमा रहँदैनन्, माओवादी केन्द्रको निर्णय मत दिने

काठमाडौं, साउन ३ । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

आज  बसेको एमाले स्थायी कमिटी बैठकले देउवालाई विश्वासको मत नदिने निर्णय गरेको हो । नेकपा एमाले ओली समूहले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई मत दिनेहरु एमालेमा रहन नसक्ने निष्कर्ष निकालेको छ ।

बैठकपछि पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले भने, ‘संस्थागत निर्णय भन्दा बाहिर गएर मत दिएमा उहाँहरु एमालेमा रहनु हुन्न । माधव नेपाल पार्टी एकताको पक्षमा देखिनु भएन । निर्णयको अवज्ञा भए पार्टीले कडा निर्णय गर्नेछ । माधव नेपाल बेग्लै कोर्षमा हिंड्न चाहनु भएको देखियो ।’

यता नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । आज  सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री देउवाले आज अपरान्ह् प्रतिनिधि सभाको दोस्रो बैठकमा विश्वासको मत लिंदैछन् । यस्तै एमालेको माधवकुमार नेपाल पक्षले पनि देउवालाई विश्वासको मत दिने भएको छ । यसैबीच नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन आग्रह गरेका छन् ।

भारतको नयाँ दिल्लीमा उपचार गराइरहेका खनालले एक विज्ञप्ती जारी गर्दै एमाले सांसदलाई कुनै अलमल र आक्रोशको प्रभावमा नपरी देउवा सरकारलाई विश्वासको मत दिन आग्रह गरेका हुन् ।

उनले अदालतको फैसलाको सम्मान गर्न समेत आग्रह गरेका छन् । खनालले अबको दुई वर्ष देउवा सरकारले काम गर्ने बताएका छन् । उनले विश्वासको मत दिँदा आफ्नो मत पनि देउवाकै पक्षमा हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्