काठमाडौंमा खोप सकियो, अभियान स्थगित, खोप केन्द्र बढाउन प्रधानमन्त्री देउवाको निर्देशन
काठमाडौं , साउन १ । काठमाडौं जिल्लामा सञ्चालन भइरहेको कोरोनाभाइरस 9कोभिड—१९) विरुद्धको खोप अभियान स्थगित भएको छ ।
कोरोनाविरुद्धको भेरोसेल खोप असार २९ गतेदेखि साउन २ गतेसम्म सञ्चालन गर्ने भनिएपनि खोप सकिएपछि खोप कार्यक्रम स्थगित गरिएको जिल्ला स्वास्थ्य कार्यालयले सूचना जारी गर्दै जानकारी दिएको हो ।
साउन २ गते अर्थात भोलिसम्म सञ्चालन गर्न भनिएको खोप अभियान स्थगित गरिएको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । अर्को सूचना जारी नभएसम्मका लागि भेरोसेल खोप पहिलो मात्रा लगाउने कार्यक्रम स्थगित भएको प्रमुख जनस्वास्थ्य प्रशासक बद्री बहादुर खड्काले जानकारी दिए ।
मन्त्रीस्तरीय निर्णयबाट ५५ बर्ष देखि माथिका सबै व्यक्तिलाई भेरोसेल खोपको पहिलो मात्रा दिन निर्णय भएको थियो ।
यो खोप विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक तथा सहचालकहरुले समेत यसैपटक भेरोसेल खोप दिने र अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरु, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई लगाइदिने निर्णय भएको थियो ।यता प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना खोप केन्द्र बढाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले शुक्रबार मुख्यसचिव र स्वास्थ्य सचिवलाई बालुवाटार बोलाएर खोप केन्द्र बढाउन निर्देशन दिएका हुन् ।
देउवाले ट्वीट गर्दै भनेका छन्, ‘खोप केन्द्रमा लामो लाईन देखिएकाले आवस्यकता अनुसार खोप केन्द्रहरु बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रवन्ध मिलाउन मुख्यसचिव र स्वास्थ्य सचिवलाई निर्देशन गरेको छु।
सर्वोच्चको परामादेश अनुसार मंगलबार प्रधानमन्त्री बनेका देउवाले कोरोना विरुद्धको खोपमा विशेष प्राथमिकता देखिएको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्