एमालेको नेपाल समूहद्वारा अखिल फोर्स गठन

काठमाडौं , असार ३१ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका विद्यार्थीहरुले अखिल फोर्स गठन गरेका छन् । तपेन्द्रजंग शाहीको संयोजकत्वमा अखिल फोर्स गठन गरिएको अखिलका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले बताए ।

अध्यक्ष केपी शर्मा ओली निकट युवाहरुले युथ फोर्स बनाएपछि त्यसलाई काउण्टर दिन अखिल फोर्स गठन गरिएको उनले बताए । युथ फोर्सका नाममा आफ्ना नेताहरुलाई धम्क्याउन थालिएको र त्यसका विरुद्ध आफुहरुले अखिल फोर्स बनाएका उनको भनाइ रहेको छ ।

साथै अखिल फोर्सले शैक्षिक क्षेत्रमा हुने बेथिति विरुद्ध लड्नुका साथै नेताहरुको सुरक्षामा खटिने उनले बताए । ‘कथित साइबर सेनाको नाममा हाम्रो नेताहरुको चरित्र हत्या गर्ने प्रयास भइरहेको छ । अखिल फोर्सले त्यस विरुद्ध पनि लड्छ,’ पराजुलीले भने ।

अबको एक साताभित्र एक हजार एकजनाको फोर्स निर्माण हुने पनि उनले बताए । यता गएको मंगलबार पार्टी अध्यक्ष केपी शर्मा ओली समूहले युथ फोर्स पुनर्गठन गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्