साउन १ देखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी
काठमाडौं , असार ३० । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । संक्रमणदर घट्दै जाँदा निषेधाज्ञा पनि खुकुलो गरिँदै आएको छ । पछिल्लो समय उपत्यकामा थप गरिएको निषेधाज्ञा असार ३१ गते सकिँदै छ ।
पछिल्लो समय थप गरिएको निषेधाज्ञा सकिनै लाग्दा साउनदेखि लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिइने तयारी गरिएको छ । काठमाडौं उपत्यकाका तीन प्रशासन कार्यालयले यस्तो तयारी थालेका हुन् ।
जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार लामो दूरीका सार्वजनिक सवारी सञ्चालन गर्न दिनेबारे छलफल गरिने बताए । उनले भने, ‘‘सर्वसाधारणको हकहितमा हामीले निरन्तर निषेधाज्ञा खुकुलो पार्दै आएका छौँ । यसपछिको निषेधाज्ञा थप खुकुलो पार्ने विषयमा छलफल चलिरहेको छ । सर्वसाधारण नागरिकले दुःख पाएका छन् । लामो दूरीका सार्वजनिक सवारी सञ्चालन नहुँदा विद्यार्थी, सर्वसाधारण मारमा परेका छन् । यसप्रति हाम्रो ध्यान गएको छ ।”
उनले अहिले नै निषेधाज्ञाको बारेमा थप भन्न नसकिने बताए । ‘‘हामीले छलफल गरिरहेका छौँ । विद्यालय, पार्टी प्यालेस, स्वीमिङ पुल, मठमन्दिर, सिनेमा हलको हकमा पहिलेकै नियम कायम राखिनेछ । यद्यपि, छलफल भइसकेको छैन,” उनले भने ।
प्रतिक्रिया दिनुहोस्