प्रधानमन्त्री ओलीले २ बजे बालुवाटारबाट बिदाइसहित देशवासीका नाममा सम्बोधन गर्दै

काठमाडौं, असार २९ । सर्वोच्च अदालतको फैसलासँगै वर्हिगमन भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारी निवास \(बालुवाटार) छाड्नुअघि देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले आज दिउँसो २ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । आज बाट नेकपा एमालेका अध्यक्ष ओली सत्ताबाट बाहिरिँदै छन् भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दै छन् ।

सर्वोच्च अदालतको आदेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आज देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने भएकी हुन् । राष्ट्रपतिको कार्यालयका एक अधिकारीका अनुसार आज साँझ ५ बजे देउवालाई प्रधानमन्त्री पदको शपथ खुवाउने कार्यक्रम तय गरिएको छ ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधि सभा पुनःस्थापना गर्दै देउवालाई आज साँझ ५ बजेभित्र प्रधानमन्त्री पदमा नियुक्ति दिन परमादेश जारी गरेको हो । देउवा पाँचौंपल्ट प्रधानमन्त्री बन्न लागेका हुन् । यसअघि उनले चार पटक मुलुकको सत्ता नेतृत्व गरिसकेका छन् ।

देउवाले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् । गत जेठमा संविधानको धारा ७६ (५) बमोजिम बहुमत १४६ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री पदमा दाबी गरे पनि राष्ट्रपति भण्डारीले बहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीबाट पनि १५३ सांसद आफ्नो समर्थनमा रहेको दाबी आएको भन्दै देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति दिन अस्वीकार गरेकी थिइन् भने लगत्तै मन्त्रिपरिषद् बैठक राखेर प्रधानमन्त्री ओलीले गरेको सिफारिसमा राष्ट्रपति भण्डारीले दोस्रोपटक गत जेठ ७ गते मध्यराति प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।

त्यसविरुद्ध देउवाको नेतृत्वमा १४६ सांसदले हालेको मुद्दामा सर्वोच्च अदालतले सोमबार फैसला सुनाउँदै प्रतिनिधि सभा पुनःस्थापना गर्नाका साथै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको हो । अदालतको परमादेशसँगै अब ओली हट्ने र देउवा प्रधानमन्त्री हुने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्