सर्वोच्चको फैसला नमान्ने भन्दै प्रधानन्यायाधीश राणाप्रति महेश बस्नेतको आक्रोश, देश द्वन्द्वमा जाने चेतावनी
काठमाडौँ, असार २८ । नेकपा एमालेका नेता महेश बस्नेतले सोमबार संवैधानिक इजलासबाट भएको फैसलाका सन्दर्भमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाप्रति चर्को आक्रोश प्रकट गर्दै फैसला नमान्ने चेतावनी दिएका छन् । बस्नेतले फैसलाका कारण देश द्वन्द्वमा प्रवेश गरेको घोषणा पनि गरेका छन् ।
फैसलापछि सर्वोच्च अदालत नजिकै माइतीघर मण्डलमा एमाले भ्रातृ सङ्गठन राष्ट्रिय युवा संघ, नेपालले आयोजना गरेको विरोध प्रदर्शनमा बस्नेतले प्रधानन्यायाधीश राणाले जहानीया राणा शासनको शैलीमा फैसला गरेको आरोप लगाउँदै ‘उनको थर राणा भएको भरमा राणा शासन नमान्ने’ चेतावनी दिए ।
युवा संघका पूर्व अध्यक्ष बस्नेतले उक्त फैसला संवैधानिक इजलासले गरेको नभई ‘शम्भु थापा र रमण श्रेष्ठहरुले’ गरेको आरोप पनि लगाए । उनले अर्को पार्टीको सांसदको मतले कांग्रेसका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्न नसक्ने ठोकुवा गरे ।
बस्नेतले २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले गरेको प्रतिनिधिसभा विघटन उल्टाउँदा देश द्वन्द्वमा गएको भन्दै अहिले प्रधामनमन्त्री केपी शर्मा ओलीले गरेको विघटन उल्टाएर फेरि देशलाई द्वन्द्वमा धकेलेको आरोप लगाए ।
उनले अहिलेको फैसलाका कारण देश द्वन्द्वमा प्रवेश गरेको घोषणा गरे । उनले भने, ‘हामी फैसला मान्दैनौँ, नेपाली जनताले मान्दैनन्, युवाहरूले मान्दैनन्, देश द्वन्द्वमा गयो ।’
प्रदर्शनकारीहरूले फैसलाविरुद्ध चर्को नाराबाजी गरेका थिए । प्रधानमन्त्री ओलीका ठूला तस्वीर एमालेको झण्डा बोकेका प्रदर्शनकारीहरूले केपी ओली जिन्दावाद भन्दै नारा लगाएका थिए ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली समर्थक पक्षले फैसला नमान्दै भन्दै प्रदर्शन गरेका छन् ।
ओली पक्षका कार्यकर्ताहरूले सर्वोच्च अदालतका कुनै पनि फैसला नमान्ने भन्दै माइतीघर मण्डलामा प्रदर्शन छन्। माइतीघरमा विरोध सभापछि नयाँ बानेश्वरसम्म र्याली प्रदर्शन गरिएको छ । सभालाई एमाले नेता एवं युवा संघका पूर्वअध्यक्ष महेश बस्नेतले सम्बोधन गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ८ गते दोस्रो पटक संसद विघटन गरेका थिए । उक्त विघटनलाई सर्वोच्च अदालतले बदर गर्दै सोमबार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।
सर्वोच्चले २९ गते मंगलबार साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ ।















प्रतिक्रिया दिनुहोस्