अब कोरोनाविरुद्धको खोपको अभाव हुँदैन : प्रधानमन्त्री ओली
काठमाडौँ, असार २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोरोना विरुद्धको खोपको अभाव नहुने बताएका छन्।
आइतबार काठमाडौँमा कोभिड – १९ युनिफाइड केन्द्रीय वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले नेपालीलाई अब खोपको अभाव नहुने बताउँदै केही समय खोपको अभाव देखिएको भन्दै अब सोही अवस्था दोहोरिन नदिने गरि काम भइरहेको दाबि गरेका हुन् ।
उनले २०२१ को अन्त्यसम्ममा सबैलाई खोप दिने लक्ष्य अनुसार सरकार अघि बढिरहेको जिकिर गरे । उनले कोरोना महामारी न्युनिकरणको अभियानमा लक्ष्य अनुसार सबैलाई खोप दिन ढिलो भएपनि नआत्तिन आग्रह गरे ।
प्रधानमन्त्री ओलीले सरकारको निरन्तर प्रयासका कारण नै नेपालमा कोरोना नियन्त्रण हुन सकेको दाबी गरे । त्यस्तै उनले नेपालमा जति सस्तो स्वास्थ्य सुविधा कहीँ नभएको बताए । आफ्नो किड्नी प्रत्यारोपण गर्दा ७–८ लाख मात्रै लागेको तर त्यही उपचार गर्दा अन्य देशमा धेरै खर्च लाग्ने उनले बताए ।
वीर अस्पतालको नवनिर्मित भवन उद्घाटन भएसँगै ५०० बेड थपिने योजना रहेको अस्पतालका प्रशासकिय अधिकारी प्राडा जागेश्वर गौतमले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्