कैलालीमा बालक हत्या प्रकरणः आरोपमा दिदी नाताकी किशोरीसहित दुई जना पक्राउ
काठमाडौं, असार २४ । बुधबार मृत फेला परेका टीकापुर नगरपालिका–१ का साढे ३ वर्षीय विवेक विष्टको हत्या आरोपमा प्रहरीले दुई किशोरीलाई पक्राउ गरेको छ ।
बालकलाई आफूसँगै जामुन खान लिएर गएकी उनकी दिदी नाता पर्ने १५ वर्षीया किशोरी र उनकी १४ वर्षकी साथीलाई पक्राउ परेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले गरेको जानकारी दिए । घरायसी रिसइबीका कारण बालकको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी अधिकारीले बताएका छन् ।
१५ वर्षकी किशोरीले बालकलाई जामुन खान भनी आफूसँगै लगेको र जमरा कुलोको किनारबाट धकेलेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । घरदेखि करिब पाँच सय मिटर उत्तरतर्फ कुलोमा पुगेपछि बालकले खुट्टामा लगाएको चाँदीका बाला निकालेर बालकलाई धकेलेर कुलोमा फालेको किशोरीले स्वीकार गरेको पनि एसपी अधिकारीले बताए ।
घटना खुल्ने डरले उनी साथीको घरमा गएर किताब लगेको, चाँदीका बाला साथीलाई लुकाउन दिएको पनि अनुसन्धानबाट खुलेको छ । लम्कीचुहा नगरपालिका–६ घर भएकी १४ वर्षकी अर्की किशोरीलाई बाला लुकाउन दिएको र बजारमा बिक्रीको प्रयास समेत गरेको देखिएको प्रहरीको भनाइ छ ।
उनीहरु दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सोमबारदेखि बेपत्ता भएका टीकापुर नगरपालिका–१ का पाँच वर्षीय विवेक बिष्ट बुधबार मृत अवस्थामा फेला परेका थिए ।
प्रतिक्रिया दिनुहोस्