माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै थापा समूहले आयोगमा उजुरी दिने

काठमाडौँ, असार २३ । माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै पूर्व माओवादी नेताहरुले निर्वाचन आयोगमा उजुरी दिने भएका छन् ।

माओवादी छाडेर एमालेमा लागेका कारण पदमुक्त भएका रामबहादुर थापा (बादल) सहितका नेताहरुले माओवादी केन्द्र अवैधानिक भएको दाबी गर्दै आयोगमा उजुरी दिन लागेका हुन् ।

२०७१ सालदेखि माओवादी पार्टीको महाधिवेशन नभएको र पार्टी एकतापछि आयोगमा दर्ता पनि नभएको थापा समूहको आरोप छ ।

गत फागुन २३ मा सर्वोच्च अदालतले साबिकको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को एकता खारेज गरेसँगै पूर्व माओवादी र पूर्व एमाले ब्युँतिएका थिए ।

माओवादी केन्द्र र एमाले ब्युँतिएसँगै एमालेतिर लागेका तत्कालीन प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी तथा राष्ट्रियसभा सदस्य रामबहादुर थापालाई माओवादी केन्द्रले कारबाही गरेको थियो ।

पार्टीले कारबाही गरेसँगै उनीहरु पदमुक्त भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्