प्रतिनिधिसभा पुनःस्थापना हुनेमा विश्वस्त छु: प्रचण्ड

काठमाडौं, असार २२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनःस्थापना हुनेमा आफू विश्वस्त रहेका बताएका छन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधनमा श्रद्धाञ्जली अर्पण गर्न मंगलबार जनकपुरधाम आएका अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

यसअघि पनि प्रतिनिधिसभा विघटन हुँदा सर्वोच्च अदालतले पुनःस्थापना गराएको स्मरण गर्दै उनले पहिलोपटक पनि संसद विघटन हुँदा सर्वोच्च अदालतले पुनःस्थापना गर्छ भन्ने हामीलाई विश्वास थियो र यस पटक पनि अदालतले पुनःस्थापना गर्छ भन्नेमा हामी विश्वस्त छौँ ।’

सर्वोच्च अदालतमा बुझाएको १ सय ४६ संसदको हस्ताक्षरको आधारमा अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी हुनुपर्ने समेत प्रचण्डले विश्वास व्यक्त गरे ।

प्रचण्डले संविधानको मर्म र भावना, लोकतान्त्रिक मूल्य मान्यता अनुसार संसद पुनःस्थापनाको विकल्प नरहेको बताए ।प्रचण्डले प्रधानमन्त्री केपी ओलीले अदालतलाई अनावश्यक दवाव दिन खोजेको भन्दै यसबाट उनी निरंकुशतातर्फ थप अग्रसर हुँदैछ भन्ने प्रमाणित हुने जिकिर गरे ।

अर्को प्रशंगमा अध्यक्ष प्रचण्डले संविधान त्रुटीपूर्ण रहेको स्वीकार्दै संविधान संशोधनको पक्षमा आफू रहेको बताए । संविधान त्रुटीपूर्ण रहेपनि वर्तमान संविधानबाट प्राप्त अधिकारको रक्षा गर्ने दायित्व भने सबैको रहेको उनले बताए । उनले प्रदेश २ को नाम मधेश रहनुपर्ने पनि बताएका छन् ।

सो अवसरमा प्रचण्डले दिवंगत पार्टी केन्द्रीय सदस्य महादेव यादवको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मानका साथै श्रद्धाञ्जली अर्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्