सर्वोच्चको फैसला नआउँदै निर्वाचन कार्यतालिका सार्वजनिक गरिएकोप्रति काँग्रेसको विरोध
काठमाडौं , असार २१ । नेपाली काँग्रेसले सर्वोच्चको फैसला नआउँदै निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेकोप्रति विरोध जनाएको छ ।
काँग्रेस नेता आनन्द ढुंगानाले प्रतिनिधिसभा विघटनको मुद्दामाथि सर्वोच्चमा अन्तिम सुनुवाइ चलिरहेको बेलामा निर्वाचन आयोगले कार्यतालिका ल्याउन हतारो गरेको बताए ।
काँग्रेसमा निर्वाचन सम्बन्धी गतिविधि हेर्दै आएका उनले रातोपाटीसँग भने, ुअहिले अदालतले केही निर्णय गरेको छैन । हामीले हिजो पनि अदालतले जे निर्णय गर्छ मान्छौँ भनेका थियौं । आज पनि हाम्रो त्यही भनाइ हो ।
तर हिजोको संसद विघटन र अहिलेको संसद विघटनको प्रकृति एउटै भने नभएको ढुंगानाको भनाइ छ । हिजोको र अहिलेको संसद विघटन फरक छ । संविधानको धारा ७६ को पाँच अन्तरगत बहुमत सांसदले सर्वोच्चमा रिट दिएका छौं । त्यसलै अहिले नै निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिहाल्नुपर्ने परिस्थिति थिएन ।ु
यसअघिको संसद विघटनपछि पनि निर्वाचन आयोगले पाठ नसिकेको उनको भनाइ छ । यता निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणको निर्वाचन घोषणा गरेको थियो ।
आयोगको कार्यतालिका अनुसार पहिलो चरणको निर्वाचनका लागि असोज २० उम्मेद्वारी मनोनयन, असोज २५ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ ।
त्यस्तै दोस्रो चरणका लागि असोज ३१ गते उमेदवारी मनोनय दर्ता गर्ने, कात्तिक ५ गते उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गर्ने आयोगको कार्यतालिका छ । एक अधिकारीका अनुसार सोमबार दल दर्ताका लागि आह्वानसहित निर्वाचन कार्यक्रम सार्वजनिक हुनेछ ।
प्रतिक्रिया दिनुहोस्