काठमाडौं उपत्यकामा थप एकसाता निषेधाज्ञा थपियो : जोर बिजोर प्रणाली हटाइयो , सबै सार्वजनिक यातायात चल्ने

काठमाडौं , असार २० । दोस्रो लहरको कोरोना महामारीको चेन बे्रक गर्न भन्दै वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ ।

पछिल्लो साता थप गरिएको निषेधाज्ञा भोलि सोमबार २१ गते राति १२ बजे सकिँदैछ । यसैबीच काठमाडौं उपत्यकामा फेरि एकसाता निषेधाज्ञा थप गरिएको छ । उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले टेम्पो र माइक्रोबस चल्न दिने निर्णय गरिएको जानकारी दिए ।

“स्वास्थ्य मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ । सिट क्षमताभन्दा एकजना पनि बढि यात्रु चढाउन पाइनेछैन् । संक्रमण बढ्न सक्ने जोखिम कायमै छ । भनेजति संक्रमणदर घटेको छैन,” उनले भने ।

विद्यालय, मठमन्दिर, पार्टिप्यालेस, सिनेमा हल, जिमखाना लगायतका क्षेत्र भने पहिलेकै नियम कायम राखिने निर्णय भएको छ ।

साना बस, माइक्रो, टेम्पो लगायतका सार्वजनिक सवारी साधन २२ गतेदेखि सञ्चालनमा आउने भएका छन् । २५ सिट क्षमताभन्दा माथिका सार्वजनिक सवारी साधन गत सातादेखि नै सञ्चालनमा आइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्