नेता–कार्यकर्ता नछुटेपछि विप्लव समूह असन्तुष्ट, १० दिनभित्र रिहा गर्न माग

काठमाडौं, असार २० । नेकपा विप्लव समूहले सहमतिअनुसार आफ्ना नेता–कार्यकर्ता नछुटेको भन्दै असन्तुष्टि जनाएको छ । नेताद्वय खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र धर्मेन्द्र बास्तोलाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सहमति कार्यान्वयन नभएको गुनासो गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा ओलीसँग भेटवार्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायतका नेताहरु पुगेका थिए । सो क्रममा आफूहरुले ३ बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा गम्भीर बन्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको प्रवक्ता विश्वकर्माले आइतबारै आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनले भेटका क्रममा हप्ता १० दिनभित्र आफूहरुको माग सम्बोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको र त्यसमा प्रधानमन्त्री सकारात्मक भएको जानकारी दिए ।

सरकार र विप्लव समूहबीच २१ फागुन २०७७ मा तीन बुँदे सहमति भएको थियो, जसमा विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउने र सरकारले प्रतिबन्ध फुकुवा गरेर कारागारमा रहेका नेता कार्यकर्ता रिहा गर्ने उल्लेख छ ।

सहमतिअनुसार केही नेता कार्यकर्ता छुटेपछि थुप्रै बाँकी रहेको विप्लव समूहको दाबी छ । यसअघि पनि पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले समेत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्ना नेता–कार्यकर्ता रिहाइका विषयमा ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्