२० दिनको बाढी–पहिरोः २२ जिल्लामा ३९ जनाको मृत्यु, ४६ जना बेपत्ता

काठमाडौं, असार २० । यो वर्षको मनसुन शुरु भएको २० दिनमा बाढी पहिरोका कारण देशका २२ जिल्लामा ३९ जनाको मृत्यु हुनुका साथै ४६ बेपत्ता भएका छन् । यस्तै ३९ जना घाइते भएका छन् ।

आइतबार राष्ट्रिय सभामा बोल्दै गृहमन्त्री विष्णुप्रसाद पौडेलले यसबारे जानकारी दिएका हुन् । बाढी पहिरोमा परेका २७८ जनलाई सेनाको हेलिकोप्टरबाट र २ हजार जनालाई अन्य माध्यमबाट उद्धार गरिएको उनको भनाई छ । यस्तै विभिन्न जिल्लाहरुमा ५६५ घर पूर्ण रुपमा क्षति भएको, ११२ घरमा आंशिक क्षति र ३६ सरकारी कार्यालय भवनमा क्षति पुगेको मन्त्री पौडेलले जानकारी गराए ।

यो वर्षको अविरल वर्षापछि देशका विभिन्न भू–भागमा आएको बाढी पहिरोबाट साना ठूला गरी ४३ वटा खानेपानी आयोजनामा क्षति पुगेको छ । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै गृहमन्त्री बिष्णुप्रसाद पौडेलले यसबारे जानकारी गराएका हुन् ।

यस्तै सिन्धुपाल्चोक मनाङ, कास्की लगायतका स्थानका २५ जलविद्युत आयोजनामा आशिंक क्षति पुगेको छ । सिन्धुपाल्चोको मेलम्ची खानेपानी आयोजनामा पुग्नका लागि पहुँच मार्ग बनाउँनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको तर्फबाट २ वटा बेलीब्रिज बनाउन पहल गरिएको छ । आयोजना स्थलसम्म पहुँचमार्ग बनाएर बाँध क्षेत्रमा पुगेको क्षतिको मुल्याङ्कन गरी काम अघि बढाइने मन्त्री पौडेलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्